नेपाल ‘ए’ क्रिकेट टोलीले आसामलाई पराजित गर्दै सिरिजमा अग्रता कायम

गुवाहटीस्थित वर्षापारा क्रिकेट मैदानमा शनिबार राति सम्पन्न तेस्रो टी–२० अभ्यास खेलमा नेपाल ‘ए’ क्रिकेट टोलीले आसाम प्रदेश क्रिकेट सङ्घलाई नौ रनले पराजित गर्दै सिरिजमा अग्रता लिएको छ। पाँच खेलको सिरिजमा नेपालले हाल २–१ को बढत हासिल गरेको हो।
पहिलो खेलमा आसाम १५ रनले विजयी भएको थियो भने दोस्रो खेलमा नेपालले ९६ रनको फराकिलो अन्तरमा जित निकाल्दै बराबरी गरेको थियो। तेस्रो खेलमा भने टस जितेर पहिलो बलिङ रोजेको आसामलाई नेपालले २० ओभरमा ६ विकेट गुमाएर १९६ रनको चुनौतीपूर्ण योगफल दिएको थियो।
नेपालका लागि सन्दीप जोराले आक्रामक ब्याटिङ गर्दै ७४ रनको योगदान गरे। त्यसैगरी आदिल आलम अन्सारीले ३५, तृतराज दासले ३३ र कप्तान अनिलकुमार साहले ३१ रन जोडे। आसामका बलर आकाश सेनगुप्ता दुई विकेटसहित सर्वाधिक सफल बने भने मरिनमोय दत्त, अभिनव चौधरी र शिवशङ्कर रोयले एक–एक विकेट हात पारे।
१९७ रनको लक्ष्य पछ्याउन उत्रिएको आसामले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १८७ रनमा सिमित भयो। टोलीका निहार डेकार ४० रनका साथ सर्वाधिक योगदानकर्ता रहे भने कप्तान सुमित घाडीगाँउकरले ३६, अब्दुल अजिज कुरेशीले अविजित ३१, साहिल जैनले २४ र शिवशङ्कर रोयले ११ रन जोडे।
नेपालका बलरहरूमध्ये विवेककुमार यादव, बसिर अहमद, आकाश चन्द र कमलसिंह ऐरीले समान दुई–दुई विकेट लिए भने आदिल आलम अन्सारीले एक विकेट निकाल्न सफल भए।
तेस्रो जितसँगै नेपालले सिरिज आफ्नो पक्षमा मोड्ने सम्भावना बलियो बनाएको छ। अब बाँकी दुई खेलले नेपालले यो अभ्यास श्रृङ्खला आफ्नो नाम गर्ने कि आसामले फर्कने भन्ने प्रश्नलाई खुला राखेको छ।