समाचार अर्थ

नेपालमा दिगो उर्जाको स्वर्णिम सुरुवातः लक्ष्मी सनराइज क्यापिटलले १ अर्ब संकलन

नेपालमा दिगो उर्जाको स्वर्णिम सुरुवातः लक्ष्मी सनराइज क्यापिटलले १ अर्ब संकलन

 लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सञ्चालन गरेको ‘लक्ष्मी सस्टेनेबल इनर्जी फण्ड’ले १ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक संकलन पूरा गरेको छ। कोष प्रवर्द्धकको रूपमा लक्ष्मी सनराइज बैंक र व्यवस्थापकको रूपमा लक्ष्मी सनराइज क्यापिटल रहेको यो फण्डलाई नेपालको पहिलो प्राइभेट इक्विटी इनर्जी फण्ड मानिन्छ।

क्यापिटलका अनुसार फण्डले जलविद्युत, सौर्य, वायु ऊर्जा तथा अन्य नवीकरणीय स्रोतमा लगानी गर्ने योजना बनाएको छ। यसको उद्देश्य दिगो उर्जा पूर्वाधार विस्तारमा निजी क्षेत्रको लगानी आकर्षित गर्दै दीर्घकालीन आर्थिक लाभ सुनिश्चित गर्नु रहेको छ। संस्थाले संकलित पूँजीलाई रणनीतिकरूपमा परिचालन गर्ने तयारी अगाडि बढाएको छ।

फण्ड संकलन पूरा भएको औपचारिक जानकारी सार्वजनिक गर्दै लक्ष्मी सनराइज क्यापिटलले लगानीकर्ताको विश्वास र निरन्तर सहयोगप्रति आभार व्यक्त गरेको छ। कम्पनीले यसअघि पनि विभिन्न लगानी साधनमार्फत पूँजी बजारमा उपस्थिति जनाउँदै आएको भए पनि, प्राइभेट इक्विटी मोडेलमा ऊर्जा क्षेत्रमा केन्द्रीत यो पहिलो पहल हो।

नेपालमा ऊर्जा माग लगातार बढ्दो क्रममा छ भने नवीकरणीय उर्जामा निजी लगानीको आवश्यकता पनि तीव्र रूपमा औंल्याइँदै आएको छ। सरकारी पूर्वाधार परियोजनासँगै यस्तो निजी पहललाई दीर्घकालीन लगानी प्रवाहको विकल्पका रूपमा विश्लेषकहरूले महत्त्वपूर्ण मानिरहेका छन्।

आगामी चरणमा यस फण्डले कुन परियोजनामा लगानी गर्ने हो भन्ने विवरण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ, जसले लगानीकर्तामाझ दिगो ऊर्जा क्षेत्रमा निजी क्षेत्रको भूमिकाबारे थप बहसलाई प्रोत्साहन गर्ने देखिन्छ।