समाचार स्वास्थ्य

भेरी अस्पतालमा ४५० सर्पदंश विरामीको सफल उपचार, मृत्यु दर शून्यमा झर्‍यो

भेरी अस्पतालमा ४५० सर्पदंश विरामीको सफल उपचार, मृत्यु दर शून्यमा झर्‍यो

भेरी अस्पताल नेपालगन्जले सर्पदंश उपचारमा पछिल्लो वर्ष महत्वपूर्ण उपलब्धि हात पारेको छ। बाँके, बर्दिया, सुर्खेत, दाङ र कैलालीसम्मका विरामीलाई रिफर गरिने यो अस्पतालमा पछिल्ला तीन महिनामा मात्र ४५० जना सर्पदंशका बिरामी भर्ना भएका थिए। तीमध्ये करिब ८० प्रतिशतलाई विषरहित सर्पले टोकेको देखिएको छ भने बाँकी २० प्रतिशतलाई घातक विषालु सर्पले टोकेका कारण एन्टिस्नेक भेनुम प्रयोग गरिएको भेरी अस्पतालका सूचना अधिकारी तथा इमरजेन्सी विभागका इन्चार्ज डा. संकेतकुमार रिसालले जानकारी दिनुभयो।

डा. रिसालका अनुसार उपचारका क्रममा एकजनाको पनि मृत्यु नभएको तथ्याङ्कले यो वर्षलाई विशेष बनाएको छ। अघिल्ला वर्षहरूमा सर्पदंशकै कारण अस्पतालमै मृत्यु हुने घटना दोहोरिँदै आएको भए पनि यसपटक कसैको ज्यान नजानु चिकित्सक, नर्सिङ टोली र व्यवस्थापनको ठूलो उपलब्धि भएको उहाँले बताए। तर अस्पताल पुग्नुअघि दुई बिरामीले भने बाटोमै ज्यान गुमाएको उल्लेख छ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले यस परिणामलाई "समयमै उपचार खोज्ने बिरामीहरूको सजगता र अस्पतालको तयारी" का कारण सम्भव भएको बताउनुभयो। उहाँका अनुसार सर्पदंशको जोखिममा पर्ने समुदायलाई निरन्तर सचेतना दिनु र उपचार व्यवस्थालाई बलियो बनाउनु भविष्यका लागि अझ महत्त्वपूर्ण हुनेछ।

नेपालमा करिब ९० प्रजातिका सर्पमध्ये १८ प्रजाति विषालु हुने वैज्ञानिक तथ्याङ्क छ। विषालु सर्पमध्ये तराईमा पाइने कमन करेट, स्पेक्टिकल कोब्रा (गोमन), किङ कोब्रा र रसल भाइपर प्रमुख मानिन्छन् भने पहाडी क्षेत्रमा ग्रीन पिट भाइपर बढी भेटिन्छ। यी सर्पदंशको जोखिमलाई ध्यानमा राखी तराई–मध्यपश्चिमका जिल्लामा भेरी अस्पतालजस्तो प्रभावकारी केन्द्रको आवश्यकता झनै बढेको देखिन्छ।

सर्पदंश उपचारमा मृत्यु दरलाई शून्यमा झारिएको यो उपलब्धिले देशभरका अन्य स्वास्थ्य संस्था र स्थानीय तहलाई पनि प्रेरणा दिने संकेत गरेको चिकित्सकहरूले बताएका छन्। भविष्यमा समयमै उपचार र समुदाय स्तरमै सचेतना विस्तार गर्न सकिने हो भने सर्पदंशका कारण हुने मृत्यु दरलाई देशव्यापी रूपमा कम गर्न सकिने सम्भावना देखिन्छ।