‘सिंहदरबार जलाए प्रेमको बाचा पूरा गर्न!’ लोग्शरी कुँवरको बालेनमाथि तीखो व्यङ्ग्यले सनसनी

राजधानीमा बढ्दो अराजकता, सत्ता संकट र विरोध प्रदर्शनबीच काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सामाजिक सञ्जालमा विवादको केन्द्र बनेका छन्। वरिष्ठ पत्रकार लोग्शरी कुँवरले आफ्नो आधिकारिक फेसबुकमा बालेनमाथि व्यङ्ग्य गर्दै गरेको टिप्पणी अहिले सामाजिक सञ्जालमा तीव्र बहसको विषय बनेको छ।
कुँवरले लेखेकी छन्, “बालेन केटो बोलीको चाहिँ पक्का रैछ । श्रीमतीको लागि सिंहदरबार जलाइदिन्छु भन्थ्यो, जलाएरै छोड्यो । एउटा श्रीमानको बाचा पूरा गर्यो । श्रीमतीको सम्झनामा बनेको ताजमहल हेर्न दुनियाँ पुग्छ, तिमीले श्रीमतीसङ्गको बाचा पूरा गर्न जलाएको सिंहदरबार त इतिहासका पानामा मात्रै भेटिने छ। बरु एक भकारी खरानी राख्न नबिर्स है भाइ, तिम्रो बहादुरी हेर्न आउनेहरूलाई प्रसाद दिन काम लाग्छ। केटीहरू हो, यस्तै श्रीमान खोज्नु है, गर्छु भनेपछी गरिदिने। मुखले मात्रै हैन, व्यवहारले साबित गरिदिने। ‘देश, समाज भाडमा गए।’”
कुँवरको पोस्ट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को प्रतिक्रिया आएको छ। कतिपयले उनको व्यङ्ग्यलाई “साहसिक सत्यवचन” भन्दै समर्थन गरेका छन् भने बालेनका समर्थकहरूले यसलाई “पारिवारिक प्रसंगलाई राजनीतिकरण गर्ने हदसम्मको असंवेदनशीलता” भन्दै आलोचना गरेका छन्। फेसबुक र ट्विटरमा यसै विषयमा हजारौँ प्रतिकृया देखिँदैछन्, जहाँ प्रयोगकर्ताहरू दुई ध्रुवमा विभाजित बनेका छन्।
यसबीच, बालेन साह वा काठमाडौं महानगरपालिकाले कुँवरको टिप्पणीबारे कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्। प्रेस स्वतन्त्रता, जिम्मेवार पत्रकारिता र सामाजिक सञ्जालको भूमिकाबारे पनि बहस चर्किएको छ। कानुनी विज्ञहरूले भने यसप्रकारका सार्वजनिक अभिव्यक्तिहरू “व्यक्तिगत स्वतन्त्रता”अन्तर्गत पर्छन् तर संवेदनशील परिस्थितिमा सार्वजनिक पदाधिकारी र सञ्चारकर्मी दुवैले सावधानी अपनाउनुपर्ने औंल्याएका छन्।
राजधानीमा चर्किँदो विरोध, सिंहदरबारमा आगजनी र नेतृत्व संकटबीच एक व्यङ्ग्यात्मक फेसबुक पोस्टले बालेनको भूमिकाबारे जनमतलाई फेरि ध्रुवीकृत बनाएको छ। परिस्थिति जति जटिल हुँदै गएको छ, सत्ता र नेतृत्वप्रतिको जनभावना आगामी राजनीतिक समीकरणमा निर्णायक बन्ने स्पष्ट संकेत देखिन्छ।