समाचार खेल

फिफा विश्वकप छनोटमा पोर्चुगल र फ्रान्स विजयी, अर्जेन्टिना इक्वेडरसँग पराजित!

फिफा विश्वकप छनोटमा पोर्चुगल र फ्रान्स विजयी, अर्जेन्टिना  इक्वेडरसँग  पराजित!

पोर्चुगल, फ्रान्स र इक्वेडरले फिफा विश्वकप छनोट खेलमा महत्त्वपूर्ण जित निकालेका छन् भने अर्जेन्टिना र ब्राजिलले पराजय भोगेका छन्।

समूह ‘एफ’ अन्तर्गत मंगलबार राति भएको खेलमा पोर्चुगलले हङ्गेरीलाई ३–२ गोलले हराउँदै लगातार दोस्रो जित निकाल्यो। बर्नार्डो सिल्भा, कप्तान क्रिस्टियानो रोनाल्डो र जोआओ कान्सेलोले पोर्चुगलका लागि गोल गरे भने हङ्गेरीका लागि बर्नाबास वर्गाले दुवै गोल फर्काए। यस जितसँगै पोर्चुगलले दुई खेलबाट ६ अङ्क जोड्दै शीर्षस्थानमा उक्लिएको छ। हारेको हङ्गेरी भने एक अङ्कसहित तेस्रो स्थानमा छ।

त्यसैगरी, समूह ‘डी’ मा फ्रान्सले आइसल्यान्डलाई २–१ ले पराजित गर्‍यो। खेलको सुरुवातमा एन्ड्री गुडजोनसेनले आइसल्यान्डलाई अग्रता दिलाए पनि केलियन एमबाप्पे र ब्राडली बार्कोलाका गोलले फ्रान्सले पुनरागमन जित निकाल्यो। लगातार दोस्रो जितसँगै फ्रान्सले पनि दुई खेलबाट ६ अङ्क जोड्दै शीर्ष स्थानमा कब्जा जमाएको छ। आइसल्यान्ड भने एक जित र एक हारसँगै तीन अङ्कमा सीमित छ।

दक्षिण अमेरिकी छनोटमा भने अर्जेन्टिनाले इक्वेडरसँग अप्रत्याशित हार बेहोर्नुपर्‍यो। बुधबार बिहान सम्पन्न खेलमा इक्वेडरका एनर भ्यालेन्सियाले निर्णायक गोल गर्दै आफ्नो टोलीलाई १–० को कठिन जित दिलाए। हारपनि अर्जेन्टिना यसअघि नै १८ खेलबाट ३८ अङ्कसहित विश्वकपमा छनोट भइसकेको छ। इक्वेडर भने समान खेलबाट २९ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ।

उता, दक्षिण अमेरिकाकै अन्य खेलमा बोलिभियाले ब्राजिललाई १–० ले हरायो भने कोलम्बियाले गोलको वर्षासहित भेनेजुएललाई ६–३ गोलले पराजित गर्‍यो। यी नतिजाले छनोट प्रतियोगितामा अझ रोचक मोड ल्याएको छ, जहाँ बलिया टोलीहरूले समेत चुनौतीपूर्ण संघर्ष खेप्नुपरेको देखिन्छ।