ठोक्न आदेश दिनुस्! बुढानिलकण्ठबाट आएको फोनले देश जलायो?

धेरैलाई पत्यार नलाग्न सक्छ, तर एउटा सत्य लेख्दैछु :
सोमबार ‘Gen Z’ का युवाहरू आन्दोलनका लागि माइतीघरमा जम्मा भई संसद भवन बानेश्वरतर्फ बढ्दा सहभागीहरूको संख्या करिब १० हजार नाघिसकेको थियो। स्थिति नियन्त्रणबाहिर जाने अवस्था देखेपछि आन्दोलनको कमाण्ड गरिरहेका प्रहरी अधिकारीहरूले प्रजिअ र गृहमन्त्रीलाई ब्रीफ गर्दै आदेश मागेका थिए। गृहमन्त्रीले सो कुरा बुढानिलकण्ठमा जानकारी गराउनुभयो। केहीबेरपछि बुढानिलकण्ठबाट परराष्ट्रमन्त्रीको मोबाइलबाट गृहमन्त्रीलाई फोन आयो, र करिब ५ मिनेटको कुराकानीपछि निर्देशन दिइयो — “ठोक्न आदेश दिनुस्, परेको हामी व्यहोर्छौं। यिनिहरू नै हुन्, मेरो छोरा–बुहारीलाई गाली गर्ने, नेताहरूका छोराछोरीका अनावश्यक भिडियो र फोटोहरू भाइरल गर्ने। ठोक्न आदेश दिनुस्।”
यो आदेश प्रहरीसम्म पुगेपछि मात्रै प्रहरीले ‘रौद्र’ रूप धारण गरेका थिए। त्यसपछि शान्तिपूर्ण आन्दोलन हिंसात्मक बन्दै गयो, र भविष्यका २० जना उज्ज्वल ताराहरू शहीद हुन पुगे। आन्दोलनमा पछि घुसपैठ भएको हुन सक्छ, तर निषेधित क्षेत्र तोड्दा र प्रहरीले गोली नचाल्दासम्म त्यस्तो केही थिएन। यो कुरा प्रहरी अधिकारीदेखि निवर्तमान शीर्ष नेतासम्म सबैलाई थाहा छ।
त्यति मात्रै होइन, सोमबार रातिसम्म २० जनाको मृत्यु भइसकेको नैतिक जिम्मेवारी लिँदै ओलीले पदबाट राजीनामा दिएको भए, मंगलबारको आन्दोलनमा त्यति धेरै क्षति हुने थिएन। न नेताहरूलाई कुटपिट गर्ने अवस्था आउँथ्यो, न घर जलाउने।
त्यसैले, यो आन्दोलन भड्किनुमा डा. आरजु राणा शतप्रतिशत दोषी हुनुहुन्छ, त्यसपछि रमेश लेखक, अनि मात्रै ओली।
दुई दिनमै आन्दोलन सफल हुन्छ वा यस्तो अवस्था आउँछ भनेर कसैले कल्पना पनि गरेको थिएन। तर राणाजीकै कारण आन्दोलन सफल भयो। ‘Gen Z’ का साथीहरूले शहीद भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, व्यंग्यात्मक रूपमा भए पनि, “राणाजीलाई धन्यवाद” भन्नुपर्छ।
अन्त्यमा, हिजो बुढानिलकण्ठमा शेरबहादुर दाईमाथि त्यस्तो आक्रमण हुनु हुँदैनथ्यो। उहाँको उमेर र देशका लागि पुर्याएको योगदान कसैले बिर्सनु राम्रो कुरा होइन, र उहाँ कतै दोषी पनि हुनुहुन्न। उहाँलाई रक्तामय अवस्थामा देख्दा मन पोल्छ। उहाँप्रति समवेदना छ। बाँकी जे भयो, त्यसमा कुनै दुईमत छैन।
सोमबार साँझ बुढानिलकण्ठबाट आदेशमा गोली चलेको कुरा थाहा पाउने बित्तिकै रोक्न लगाएर देउवा दाईले गृहमन्त्रीलाई राजीनामा दिन लगाए र ओलीलाई सामाजिक सञ्जाल खोल्न भने।
हुन त, ओलीको तानाशाही र हठी शैलीले आन्दोलन कम भड्किएको थिएन। समर्थन फिर्ता लिँदा पनि ओली ब्याक हुने सम्भावना थिएन होला। तर उहाँले गरेको एक ठुलो गल्ती भनेको — समर्थन फिर्ता लिन नसक्नु हो। त्यसलाई के भन्नु, अब पाठकको जिम्मा।
यही सत्य हो। बाँकी सबै तपसीलका विषय हुन्।
यो सामग्री विकास ठाकुरको व्यक्तिगत फेसबुक पोस्टबाट साभार गरिएको हो।
ठाकुर नेपाली काँग्रेसका पूर्व नेता, अभियन्ता तथा पत्रकार हुन्। उनले आफूलाई जेनजी आन्दोलनका शुभचिन्तक भएको दाबी गरेका छन्।
प्रकाशित विचार, तर्क र धारणा लेखक विकास ठाकुरका व्यक्तिगत हुन्; यसलाई हाम्रो सम्पादकीय नीतिसँग अनिवार्य रूपमा जोडेर व्याख्या गर्नु नपर्ला।