नेपालगन्ज–कोहलपुरका एक दर्जनभन्दा बढी सरकारी कार्यालयमा आगजनी, करिब १० अर्ब क्षति भएको अनुमान!

बाँकेको सदरमुकाम नेपालगन्ज र कोहलपुर क्षेत्रमा बुधबार भएको जेनजी प्रदर्शन हिंसात्मक मोडमा जाँदा करिब एक दर्जनभन्दा बढी सरकारी कार्यालय आगजनी र तोडफोडको शिकार बनेका छन्। प्रारम्भिक अनुमानअनुसार करिब दश अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्।
आगो लगाइएका कार्यालयहरूमा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, आन्तरिक राजस्व कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला अदालत, उच्च अदालत नेपालगन्ज इजलाश, मालपोत तथा भूमिसुधार कार्यालय, नापी कार्यालय, नेपालगन्ज भन्सार कार्यालय, यातायात कार्यालय, राजस्व अनुसन्धान कार्यालय कोहलपुर, ईलाका प्रशासन कार्यालयलगायतका प्रमुख संस्था परेका छन्। ती कार्यालयमा रहेका कागजात, फर्निचर, कम्प्युटरदेखि सयौँ मोटरसाइकल र गाडी समेत जलाइएका छन्।
प्रदर्शनकारीको ठूलो भीडले नाराबाजी गर्दै सरकारी कार्यालयतर्फ प्रस्थान गरेको र त्यहाँ पुग्नेबित्तिकै भवनदेखि सम्पूर्ण सामग्रीमा आगो लगाएको प्रत्यक्षदर्शीहरूले बताए। यसअघि उनीहरूले पासाङल्हामु मार्गस्थित नेकपा (एमाले) बाँकेको कार्यालय, सुर्खेत रोडमा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालय, पुष्पलाल चोकमा रहेको पुष्पलाल शालिक र विपि चोकमा रहेको विपि कोइरालाको शालिकमा समेत आगजनी र तोडफोड गरेका थिए।
विशेषगरी उच्च अदालत नेपालगन्ज इजलाश, मालपोत कार्यालय र जिल्ला अदालतमा भएको आगलागीले नजिकैको भेरी अस्पतालमा गम्भीर असर पारेको चिकित्सकहरूले बताएका छन्। धुवाँको मुस्लोले अस्पताल पुरै ढाक्दा बिरामीको उपचार प्रभावित भएको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले बताए। उनका अनुसार अस्पतालमा उपचाररत बिरामी र स्वास्थ्यकर्मी दुवै उच्च जोखिममा परेका थिए।
सोमबारदेखि सुरु भएको जेनजी आन्दोलनका क्रममा काठमाडौँलगायत देशका विभिन्न स्थानमा हिंसा भड्किएको छ। त्यस क्रममा बाँकेका दुईसहित १९ जनाको मृत्यु भएपछि बुधबार बिहानैदेखि नेपालगन्ज, कोहलपुर र खजुरामा युवाहरूले टायर बालेर विरोध प्रर्दशन गरेका थिए। त्यसको झल्को बुधबारको हिंसात्मक गतिविधिमा पनि देखिएको छ।
देशभर फैलँदै गएको आक्रोश र स्थानीयस्तरमा नष्ट गरिएका आधारभूत सेवा संस्थाहरूले सुरक्षा र शान्ति पुनःस्थापनामा थप चुनौती सिर्जना गरेको देखिन्छ। यस घटनापछि राज्य संयन्त्रले कस्तो रणनीति लिन्छ भन्ने विषय स्थानीय नागरिक चासोका साथ हेरिरहेका छन्।