त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा फर्किएपछि यात्रुहरूको भीड बढ्यो!

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दुई दिनदेखि अवरुद्ध भएपछि बुधबार साँझदेखि पुनः सञ्चालनमा आएको छ। मङ्गलबार दिउँसो भएको आन्दोलनका कारण दिउँसो ३ः३० बजेदेखि विमानस्थल बन्द गरिएको थियो। विमानस्थल सुरक्षा समितिको बुधबार बसेको बैठकले सञ्चालन गर्ने निर्णय गरेपछि उडानहरू फेरि सुरु भएका हुन्।
विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार सञ्चालन सुरु भएपछि यात्रुहरूको भीड अचानक बढेको छ। उहाँले भन्नुभयो, “मङ्गलबार दिउँसो ३ः३० बजेदेखि विमानस्थल बन्द गरिएको थियो। आजदेखि पुनः सञ्चालनमा आएपछि विदेश जाने यात्रुहरूको भीड बढेको हो।”
प्रशासनले यात्रुहरूलाई अनावश्यक भीड नियन्त्रण गर्न आफ्ना टिकट किनेका एजेन्ट वा सम्बन्धित वायुसेवाबाट समय र उडानबारे पक्का जानकारी लिएर मात्र विमानस्थल आउन आग्रह गरेको छ। लामो समयपछि फेरि सुरु भएको अन्तर्राष्ट्रिय उडानले यात्रुहरूलाई सहज बनाएको भए पनि अवरोधले सिर्जना गर्ने असुविधा यात्रु व्यवस्थापनमा अझै चुनौतीपूर्ण बनेको देखिन्छ।