विषम परिस्थितिमा पर्यटक आवागमन सहज बनाउन बोर्डको विशेष पहल!

नेपाल पर्यटन बोर्डले हाल देखिएका विषम परिस्थितिमा नेपाल आएका विदेशी पर्यटकलाई आवागमन र आवश्यक सेवामा सहजता दिलाउन विशेष पहल गरेको जनाएको छ। बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार नेपाली सेना र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरेर विमानस्थलदेखि होटलसम्मको यात्रामा पर्यटकलाई सहयोग गरिँदैछ।
मङ्गलबारदेखि काठमाडौँ र पोखरामा पर्यटकका लागि सटल बस सञ्चालन गरिएको बोर्डले जनाएको छ। जोशीका अनुसार, पदयात्रामा निस्किएका अधिकांश पर्यटकलाई खास समस्या नभए पनि काठमाडौँ भित्रिने वा फर्किने क्रममा कठिनाइ भोगिरहेका पर्यटकलाई विशेष व्यवस्थापन गरिएको छ। सडक अवरुद्ध हुँदा विमानस्थलमा रोकिएका यात्रुलाई पानी र बिस्कुट उपलब्ध गराई सुरक्षा निकायसँग समन्वय गरेर राति होटलसम्म पुर्याइएको उनको भनाइ छ।
बोर्डको तथ्याङ्कअनुसार पछिल्लो १० दिनमा करिब ३५ हजार पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएका छन्। तीमध्ये धेरैजना खुम्बु, अन्नपूर्ण र पोखरा क्षेत्रमा पदयात्रामा निस्किएका छन् भने केही काठमाडौँमा बसिरहेका छन्। मनसुन अन्त्यसँगै नेपालमा मुख्य पर्यटक सिजन सुरु हुने समय नजिकिएकोले विदेशी आगन्तुकको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ।
जोशीका अनुसार, अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी र टुर अपरेटरहरूले लगातार जानकारी मागिरहेका कारण बोर्डले २४ सै घण्टा सूचना उपलब्ध गराउन सात कर्मचारीलाई समर्पित गरेको छ। फोन, टोल-फ्री नम्बर र इमेलमार्फत पर्यटकको समस्या सुनेर सम्बन्धित निकायसँग सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ।
पर्यटन बोर्डले चुनौतीपूर्ण अवस्थामा पनि विदेशी आगन्तुकलाई सुरक्षित, व्यवस्थित र सकारात्मक अनुभव दिलाउन प्राथमिकता दिइएको जनाएको छ, जसले आगामी दिनमा नेपाललाई अझ विश्वसनीय गन्तव्यका रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।