समाचार

सुर्खेत दङ्गामा राजधानीजस्तै तबाही: पार्टी अफिसदेखि नेताका घरसम्म खरानी!

सुर्खेत दङ्गामा राजधानीजस्तै तबाही: पार्टी अफिसदेखि नेताका घरसम्म खरानी!

सुर्खेतको वीरेन्द्रनगरमा मंगलबारको ‘जेनजी’ आन्दोलन दिनभर हिंसात्मक रूप लिन पुगेपछि दर्जनौँ सरकारी तथा निजी संरचना जलेर नष्ट भएका छन्। बिहान विद्यार्थीहरूले निकालेको शान्तिपूर्ण जुलुस साँझसम्म आइपुग्दा राजनीतिक दलका कार्यालयदेखि सरकारी अड्डा र नेताका निजी घरसमेत आक्रमणको लक्ष्य बने।

मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीहरूले बिहानै प्रदेश सभाभवन अगाडि शान्तिपूर्ण र्‍याली आयोजना गरेका थिए। केही घण्टासम्म बजार सामान्य देखिए पनि करिब १० बजेतिर मंगलगढी चोकमा ठूलो भीड जम्मा भएपछि नाराबाजी चर्कियो र स्थिति तनावतर्फ गयो।

प्रदर्शनकारीले सबैभन्दा पहिले नेकपा (एमाले)को हटियालाइनस्थित कार्यालय तोडफोड गरेपछि भीड नियन्त्रणभन्दा बाहिर गएको हो। त्यसपछि कांग्रेस र माओवादी केन्द्रका पार्टी कार्यालयमा समेत आक्रमण भयो। यी तीनै दलका कार्यालय पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने राप्रपाको कार्यालयमा पनि तोडफोड र आगजनी भएको स्थानीय प्रशासनले जनाएको छ।

राजनीतिक दलका कार्यालयपछि प्रदर्शनकारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयतर्फ धाउन खोज्दा सुरक्षाकर्मीले रोकेका थिए। त्यसपछि नापी कार्यालय र प्रदेश लेखा नियन्त्रण कार्यालयमा आक्रमण भयो। साँझसम्म वीरेन्द्रनगर नगरपालिकाका १, २, ३, ६, ८, १० र ११ नम्बर वडा कार्यालयमा समेत आगजनी र तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ।

यसैबीच, कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको घरमा भएको आक्रमणका क्रममा गोली चलेर एक जनाको मृत्यु भएको छ। प्रदर्शनकारीहरूले उनका भाइ डम्बरबहादुर खड्काको घर, मुख्यमन्त्री निवास, नगरप्रमुख मोहनमाया ढकाल र उपप्रमुख नीलकण्ठ खनालको घरसमेत जलाएका छन्। यी सबै संरचना पूर्ण रूपमा नष्ट भएका छन्।

राति हिंसात्मक घटनाले शहर त्रसित भए पनि बुधबार बिहानैदेखि जनजीवन क्रमशः सामान्यतर्फ फर्किन थालेको छ। सुरक्षाका लागि नेपाली सेना सडकमा परिचालन गरिएको छ।