समाचार

बैतडी कारागार खाली! ६२ कैदी रातारात फरार, सुरक्षा प्रणाली धरापमा!

बैतडी कारागार खाली! ६२ कैदी रातारात फरार, सुरक्षा प्रणाली धरापमा!

बैतडी जिल्ला कारागार सोमबार साँझ एकैपटक खाली भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार राति करिब ८ः३० बजेतिर कैदीबन्दीहरूले गेटको ताला तोडी सामूहिक रूपमा भागेका हुन् । कारागारमा रहेका ६२ जना कैदीबन्दीमध्ये एकजनासमेत भित्र नरहेको पुष्टि भएको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बन्दीगृहभित्र दिउँसोदेखि नै आगजनी र तोडफोड सुरु भएको जानकारी दिए । उनका अनुसार सुरक्षाकर्मीले घण्टौँ प्रयास गर्दा पनि स्थिति नियन्त्रणमा आउन सकेन, जसपछि कैदीहरू पलायन गर्न सफल भए । पौडेलको भनाइमा, ‘‘कारागारमा लागेको आगो निभाउने र गेट सुरक्षित गर्ने प्रयास निरन्तर गरिए पनि परिणाम हात लागेन ।’’

घटना सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी पौडेल स्वयं सुरक्षाअधिकारीहरूको टोलीसहित कारागार परिसर पुगेका थिए । फरार कैदीबन्दीको खोजतलासका लागि प्रहरीलाई विभिन्न स्थानमा परिचालन गरिएको प्रशासनले जनाएको छ ।

जिल्लाको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको यस घटनाले पहाडी भेगका पुराना संरचना र न्यूनतम स्रोतसाधनमा आधारित कारागार प्रणाली कति कमजोर रहेछ भन्ने चिनाएको छ । अब कारागार सुरक्षाको पुनरावलोकन र जिम्मेवारीबारे गम्भीर छलफल अपरिहार्य देखिन्छ ।