समाचार

‘लुटिएका हतियार तुरुन्त बुझाउनुस्, नत्र कानुनले नछाड्ने’—सेनाको कडा चेतावनी

‘लुटिएका हतियार तुरुन्त बुझाउनुस्, नत्र कानुनले नछाड्ने’—सेनाको कडा चेतावनी

नेपाली सेनाले जेनजी नेतृत्वको आन्दोलनका क्रममा लुटिएका वा सडकमा फेला परेका हातहतियार र गोलीगठ्ठा तत्काल नजिकैको सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरेको छ। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाले बुधबार जारी गरेको विज्ञप्तिमा त्यस्ता सामग्री दुरुपयोग भएमा ठूलो जनधनको क्षति हुनसक्ने चेतावनी दिइएको छ।

विज्ञप्तिमा भनिएको छ, “फेला परेका हातहतियार, गोलीगठ्ठा वा अन्य संवेदनशील सुरक्षा सामग्री तुरुन्तै सम्बन्धित सुरक्षाकर्मीलाई बुझाउन अनुरोध गर्दछौं।” सेनाले व्यक्तिहरूलाई आफूले पाएको जानकारी सुरक्षाकर्मीलाई दिनुका साथै अरूलाई पनि बुझाउन प्रेरित गर्न आग्रह गरेको छ।

यससँगै सेनाले सुरक्षाकर्मीको पोशाकको अनधिकृत प्रयोग नगर्न चेतावनी दिएको छ। यस्ता पोशाक आन्दोलन वा भिडभाडमा प्रयोग भएमा गलत आशयमा बुझिने र थप सुरक्षा चुनौती पैदा हुने सम्भावना सेनाले औंल्याएको छ।

विज्ञप्तिमा फेला परेका हातहतियार वा गोलीगठ्ठा नबुझाई कसैसँग राखिएको खण्डमा प्रचलित कानुनअनुसार कानुनी कारबाही हुने उल्लेख गरिएको छ।

राजधानीसहित देशका विभिन्न भागमा हालैका दिनमा भएका तोडफोड र आगजनीका घटनाले सुरक्षामा थप संवेदनशीलता देखाएको अवस्थामा सेनाको यो अपिललाई सामान्य सुरक्षा सावधानीभन्दा बढी जिम्मेवारीसहितको चेतावनीका रूपमा लिइएको छ।