एमाले संकटमा! योगेश भट्टराईको खुला बिद्रोह, पार्टी पुनर्गठनको माग

एमालेका नेता योगेश भट्टराईले देशको वर्तमान अस्थिर अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गर्दै पार्टी र राष्ट्रिय निकासका लागि १०-बुँदे आह्वान गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रकाशित लामो स्टाटसमा उनले अहिलेको परिस्थितिलाई "इतिहासकै गम्भीर संकट" भन्दै पार्टी, नेतृत्व, जनसम्पर्क र राष्ट्रिय एकतालाई सुदृढ बनाउन तत्काल कदम चाल्नुपर्नेमा जोड दिएका छन्।
भट्टराईले लेखेका छन्, "प्रिय कमरेडहरू, हामी यतिवेला इतिहासकै गम्भीर संकटको अवस्थामा छौँ। देश र समाज भयानक अस्थिरतामा छ। हामी सबै तनावमा छौँ। यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सही ठाँउमा पुर्याउँदैन।"
उनले आफ्ना १० बुँदामा पार्टी र नेतृत्वको पुनर्गठनदेखि लिएर आन्तरिक पारदर्शिता, जनताको सहभागिता, संविधान र लोकतान्त्रिक मूल्यको रक्षा, राष्ट्रिय एकता, तथा अन्तर्राष्ट्रिय समुदायसँगको समन्वयसम्मका विषयलाई समेटेका छन्। भट्टराईले विशेषगरी एमालेभित्रका कमजोरीहरूको आत्मालोचना गर्न, संगठनलाई नयाँ ढंगले पुनर्गठन गर्न र आम सदस्यहरूको अपनत्व सुनिश्चित गर्न अपिल गरेका छन्।
उनले लेखेका छन्, "पार्टीका आन्तरिक प्रक्रियाहरू पूर्णतः पारदर्शी र लोकतान्त्रिक बनाऔं। जनतामा जाऔं, जनतालाई सुनौं, र त्यस अनुसार निर्णय गरौं।" साथै, उनले संविधानको सर्वोच्चता, मानव अधिकार, प्रेस स्वतन्त्रता र कानूनको शासनप्रति पार्टीको प्रतिबद्धता स्पष्ट पार्दै, यी मूल्यहरूबाट "दायाँ वा बायाँ नजाने" स्पष्ट सन्देश दिएका छन्।
भट्टराईले अझै भनेका छन्, "खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नु छ। नेपालको हित चिताउने सबैसँगको समन्वयबाट मात्र यो कार्य सम्पन्न गर्न सकिन्छ।"
उनी अहिले चर्किँदै गएको ZEN G आन्दोलनका मागहरूलाई समेत समर्थन गर्दै, भ्रष्टाचार र बेथिती अन्त्य गर्ने जनताको आवाजलाई पार्टीले सम्बोधन गर्नुपर्छ भन्ने अडानमा छन्। उनले लेखेका छन्, "ZEN G समूहले अघि सारेका भ्रष्टाचार र बेथिती अन्त्य गर्ने मागलाई समर्थन गरौं, र कार्यान्वयनमा सहयोग गरौं।"
भट्टराईको वक्तव्यले एमालेभित्र मात्र नभई राजनीतिक वृत्तमा समेत चर्चा पैदा गरेको छ। विश्लेषकहरूको भनाइमा, उनका १०-बुँदे सुझावहरूले पार्टीभित्र आत्मालोचना, संगठनात्मक सुधार र राष्ट्रिय सहमतिको मार्ग खुलाउन दबाब सिर्जना गरेको छ।
राजधानीमा जारी अस्थिरता, आन्दोलन र विध्वंसबीच आएको यो वक्तव्यले पार्टी नेतृत्व, सुरक्षा संयन्त्र र जनताबीचको दूरीलाई पुनःजोड्ने राजनीतिक सन्देश दिएको छ। अब प्रश्न भने यही छ — एमाले र अन्य राजनीतिक शक्तिहरू भट्टराईको आह्वानअनुसार एकजुट भएर स्थायित्व र समाधानतर्फ अघि बढ्छन् कि पुनः विवाद र टकरावमा फस्छन्।