मंगलबार राती ताप्लेजुङको नगरपालिका, पार्टी कार्यालय र जलविद्युत् आयोजनामा तोडफोड–आगजनी
ताप्लेजुङको फुङ्लिङ नगरपालिका जेनजी समूहको तोडफोड र आगजनीबाट गम्भीर क्षतिग्रस्त बनेको छ। मंगलबार राति करिब साढे ९ बजेतिर समूहले नगरपालिका कार्यालयमा आगो बोलेपछि कागजातदेखि कार्यालय संरचना र उपकरणसम्म जलेर वा भत्किएर प्रयोगविहीन बनेका छन्।
नगरपालिकाका स्रोतले नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षसहित विभिन्न शाखामा रहेका फाइल, कम्प्युटर, प्रिन्टर र फर्निचरसमेत नष्ट भएको जानकारी दिएका छन्। प्रत्येक कक्षका ढोका र झ्याल तोडफोड गरी भवनलाई व्यापक क्षति पुर्याइएको छ। साथै, नगरपालिकाका दुई दमकल, एउटा टिप्पर र एउटा जेसिभी पनि भत्काइएको पुष्टि भएको छ।
सोही रात नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला कार्यालयसमेत आक्रमणको लक्ष्य बने। ती कार्यालयमा रहेका फर्निचर, कागजात र उपकरणसमेत तोडफोड र नष्ट भएको सम्बन्धित दलहरूले बताएका छन्।
जेनजी समूहकै नाममा फक्ताङ्लुङ गाउँपालिकास्थित निर्माणाधीन माथिल्लो तमोर जलविद्युत् आयोजनाका दुई टिप्पर र भण्डारण कोठामा समेत आगजनी गरी क्षति पुर्याइएको उल्लेख छ।
उक्त घटनाअघि मंगलबार दिउँसो समूहले सदरमुकाम फुङ्लिङमै शान्तिपूर्ण रूपमा नारा लगाएर प्रदर्शन गरेको थियो। तर राति देखिएको हिंसात्मक गतिविधिले आन्दोलनको स्वरूपबारे प्रश्न उठेको छ। स्थानीयवासीहरूका अनुसार सरकारी तथा निजी सम्पत्तिमाथिको यस्तो क्षति दीर्घकालीन असर पार्ने खतरा देखिन्छ, जसको समाधान अझै अस्पष्ट छ।