समाचार

भ्रष्टाचारविरुद्ध लमजुङमा जेनजीको शान्तिपूर्ण बिद्रोह, हजारौंको सहभागिता!

भ्रष्टाचारविरुद्ध लमजुङमा जेनजीको शान्तिपूर्ण बिद्रोह, हजारौंको सहभागिता!

लमजुङको सदरमुकाम बेँसीसहरदेखि मध्यनेपाल र सुन्दरबजारसम्म सोमबार जेनजी पुस्ताको आह्वानमा विरोध प्रदर्शन गरिएको छ। भ्रष्टाचार र बेथिति अन्त्यको मागसहित सुरु गरिएको आन्दोलन शान्तिपूर्ण भए पनि सहभागीको उपस्थिति र नारा प्रदर्शनले स्थानीय समाजमा गहिरो प्रभाव पारेको देखिन्छ।

बेँसीसहरमा बिहानै स्वतन्त्र रूपमा भेला भएका युवादेखि प्रौढ र बालबालिकासम्म प्रदर्शनमा देखिनु आन्दोलनको व्यापकता झल्काउँथ्यो। सहभागीहरूले भीमसेनस्थानबाट मनाङे चौतारासम्मको यात्रा गर्दै भीमसेनस्थान, नारायणस्थान, शेरा, फूलबारी र प्रशासन चोक घुम्दै सरकारविरुद्ध नारा लगाएका थिए। आयोजकहरूले शेराचोकमै र्‍याली टुंग्याउने योजना बनाएको भए पनि भीड स्वस्फूर्त रूपमा फूलबारी चोक, प्रशासन चोक हुँदै पुनः भीमसेनस्थानसम्म पुगेको थियो।

यसैगरी, मध्यनेपालको भोर्लेटार, सुन्दरबजारको पाउदी, भोटेओडार र राइनासलगायतका क्षेत्रमा पनि प्रदर्शन भएको स्थानीयहरूले जनाएका छन्। विशेषगरी राइनासका युवाहरू मोटरसाइकल ¥याली निकाल्दै सदरमुकामसम्म आएका थिए।

स्थानीय नागरिकहरूले यसलाई राजनीतिक स्वार्थभन्दा अलग राखिएको शान्तिपूर्ण जनआवाजको रूपमा व्याख्या गरेका छन्। जनजीवन सहज भइरहे पनि प्रदर्शनमा बालबालिकासमेतको सक्रियता देखिनु, आन्दोलित पुस्ताले आफ्ना मागहरू कसरी स्पष्ट र प्रभावकारी ढंगले प्रस्तुत गर्न खोजिरहेको छ भन्ने संकेत हो।

आन्दोलन स्थानीय तहमा फैलिँदै गर्दा यसको स्थायित्व र माग सम्बोधन गर्ने राज्यको तयारी आगामी दिनमा जनताको विश्वास कसरी पुनःस्थापित हुन्छ भन्ने प्रश्नसँग जोडिएको छ।