बारामा कर्फ्यु लागू: बिहानैदेखि सेनासहित सुरक्षा कडा, सर्वसाधारणलाई घरमै बस्न आदेश!
बारा जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले बुधबार बिहानदेखि दिउँसोसम्म कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले मंगलबार राति विज्ञप्ति जारी गर्दै बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म सम्पूर्ण जिल्लाभर कर्फ्यु लागु हुने जानकारी दिएका हुन्।
उनका अनुसार कर्फ्यु आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम जारी गरिएको हो। पौडेलले हालैका प्रदर्शनले ठूलो जनधनको क्षति पुर्याएको भन्दै थप जोखिम रोक्न यस्तो कदम आवश्यक भएको स्पष्ट पारे।
कर्फ्यु अवधिमा कुनै पनि सभा, जुलुस, प्रदर्शन, भेला वा घेराउ गर्न कडाइका साथ निषेध गरिएको छ। आदेश पूर्वमा रौतहट, पश्चिममा पर्सा, उत्तरमा मकवानपुर र दक्षिणमा भारतसम्म फैलिएको चारकिल्लाभित्र लागू हुनेछ।
यस क्रममा शान्ति–सुरक्षाको जिम्मेवारीमा नेपाली सेनासहितका सम्पूर्ण सुरक्षा निकाय परिचालित गरिएको प्रशासनले जनाएको छ। यद्यपि, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी र सञ्चारकर्मीले प्रयोग गर्ने अत्यावश्यक सेवाका सवारी साधनलाई भने आवागमनमा सहजीकरण गरिनेछ।
जिल्ला प्रशासनले सबै नागरिकलाई संयमित रहनुका साथै सम्भावित दुर्घटना टार्न आ–आफ्नो घरमै बस्न आग्रह गरेको छ। प्रदर्शनका कारण आक्रान्त बनेको बारा फेरि सामान्य अवस्थामा फर्कन सक्नेछ कि भन्ने प्रश्नले स्थानीयवासीलाई अझै चिन्तित बनाइरहेको छ।