दर्जनौँ व्यापारिक संरचनामा आगजनी भएर २० अर्बभन्दा बढीको क्षति भएको अनुमान !
काठमाडौंमा ‘जेनजी’ आन्दोलन दोस्रो दिन प्रवेश गर्दा राजधानीका ठूला व्यापारिक र व्यावसायिक संरचना आगजनी र तोडफोडको शिकार बनेका छन्। मंगलबारदेखि सुरु भएको आन्दोलन बुधबार दिनभर झन् तीव्र बन्दा पाँचतारे होटेलदेखि व्यापारिक कम्प्लेक्स र बहुराष्ट्रिय व्यापारिक घरानासम्म प्रत्यक्ष असर परेको छ।
सबैभन्दा ठूलो क्षति नक्सालस्थित होटल हिल्टनमा पुगेको देखियो। गत वर्ष साउनदेखि सञ्चालनमा आएको शङ्कर समूहको स्वामित्वमा रहेको करिब आठ अर्ब ३५ करोड लगानीको यो होटल दिनभर दन्किरहेको आगोले थिलथिलो बन्यो। आगलागी सुरु भएपछि पर्यटकहरू माथिल्लो तलामा पुगेर उद्धारका लागि गुहार मागिरहेका दृश्य सामाजिक सञ्जालमा दिनभर फैलिएका थिए। त्यस्तै, संघीय सांसद तथा पर्यटन व्यवसायी राजेन्द्र बजगाईँ सञ्चालक रहेको करिब सवा अर्ब लगानीको होटल वर्णवास पनि आन्दोलनकारीले तोडफोडपछि जलाइदिए।
यसै क्रममा भाटभटेनी सुपरमार्केटका नक्साल, बौद्ध, भक्तपुरको राधेराधे, चितवनको भरतपुर, पोखरा, विराटनगर, बिर्तामोड र जनकपुरस्थित शाखाहरूमा समेत तोडफोड, लुटपाट र आगजनी भएको छ। व्यापारिक घराना चौधरी समूह पनि आन्दोलनको निशानामा पर्यो। सतुङ्गलस्थित सिजी इलेक्ट्रोनिक्सको कारखाना पूर्ण रूपमा जलेर नष्ट भयो भने थापाथलीस्थित सिजी कर्पको सोरुममा रहेका नयाँ गाडी समेत जलेर खरानी बने।
चन्द्रागिरि केबुलकारको बेस स्टेसन र तीनकुनेस्थित सिम्रिक एयरको व्यापारिक कम्प्लेक्स पनि पूर्ण रूपमा नष्ट भएका छन्। दूरसञ्चार प्रदायक एनसेलको लैचनौरस्थित कार्यालय बुधबार साँझ तोडफोड र आगजनीको शिकार भयो भने थापाथलीस्थित कान्तिपुर मिडिया समूहको केन्द्रीय कम्प्लेक्स समेत क्षतविक्षत भयो।
आधिकारिक रूपमा क्षतिको मूल्याङ्कन अझै भइसकेको छैन। तर, प्रभावित संरचनामा गरिएको लगानी हेर्दा बुधबारको आन्दोलनले मात्र करिब २० अर्ब रुपियाँभन्दा बढीको आर्थिक क्षति पुर्याएको अनुमान गर्न सकिन्छ।
युवाहरूको असन्तोष सडकमा उत्रँदा निजी क्षेत्रका दशकौँको लगानी एकै दिनमा ध्वस्त भएको तस्बिरले देशको राजनीतिक अस्थिरता र शासनप्रतिको गहिरो अविश्वास उजागर गरिरहेको छ, जसको दीर्घकालीन प्रभाव अझै कति टाढासम्म पुग्ने हो भन्ने प्रश्न झन् गहिरिँदै गएको छ।