निषेधाज्ञाबीच राष्ट्र बैंकको अपिल: सीमित कर्मचारी, तर सेवा बन्द हुँदैन

नेपाली सेनाले जारी गरेको निषेधाज्ञा कार्यान्वयनसँगै मुलुकमा सामान्य बैंकिङ गतिविधि प्रभावित भइरहेका बेला नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई न्यूनतम कर्मचारीमार्फत अत्यावश्यक सेवा सञ्चालन गर्न आग्रह गरेको छ।
राष्ट्र बैंकले आज सार्वजनिक गरेको सूचनामा सबै इजाजतप्राप्त वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी सेवा प्रदायकलाई व्यवसायिक निरन्तरता कायम राख्न निर्देशन दिएको छ। सूचनाअनुसार, संस्थाले संवेदनशील प्रणालीलाई सीमित कर्मचारीमार्फत सञ्चालन गर्दै अत्यावश्यक बैंकिङ र डिजिटल भुक्तानी सेवा निरन्तर उपलब्ध गराउनुपर्ने हुन्छ। अन्य प्रणाली भने जोखिम मूल्याङ्कनका आधारमा रिमोट एक्सेसमार्फत सञ्चालन गर्न सकिने व्यवस्था मिलाउन भनिएको छ।
यससँगै, उपलब्ध शाखा, एटीएम तथा सञ्चालनमा रहेका सेवाबारे जानकारी नियमित रूपमा आफ्ना वेबसाइट र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुपर्ने आग्रह पनि गरिएको छ।
निषेधाज्ञा जारी भएपछि सर्वसाधारणलाई नगद कारोबार, भुक्तानी र आवश्यक वित्तीय सेवामा असुविधा हुन नदिन राष्ट्र बैंकले गरेको यो व्यवस्था तत्कालीन व्यवस्थापनतर्फको संकेत हो। यसले संकटपछिको पुनःस्थापनालाई सहज बनाउन वित्तीय क्षेत्रको भूमिकालाई अझै महत्त्वपूर्ण बनाएको देखिन्छ।