समाचार स्वास्थ्य

९४९ घर फर्किए, तर ३२१ अझै अस्पतालमा!

९४९ घर फर्किए, तर ३२१ अझै अस्पतालमा!

सोमबार र मंगलबार भएका विरोध प्रदर्शनमा घाइते भएका एक हजारभन्दा बढी मध्ये अधिकांश उपचारपछि घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार कुल एक हजार ३६८ घाइतेमध्ये ९४९ जनालाई उपचारपछि डिस्चार्ज गरिएको हो ।

अझै ३२१ जना देशभरका ४१ अस्पतालमा उपचाररत छन् । घाइतेमध्ये ३५ जनाको शल्यक्रिया गरिएको मन्त्रालयले जनाएको छ । सिभिल अस्पतालमा मात्रै ४४२ घाइते पुगेका थिए, जसमा २१ जनाको शल्यक्रिया भएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा १६१ घाइते भर्ना भएका मध्ये ११ जनाको शल्यक्रिया गरिएको छ भने नारायणी अस्पतालमा उपचाररत नौमध्ये तीन जनामा शल्यक्रिया गरिएको छ ।

यसबीच, मृत्यु हुने घाइतेको संख्या ३४ पुगेको पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता बुढाथोकीका अनुसार सबैभन्दा बढी मृत्यु राष्ट्रिय ट्रमा सेन्टरमा आठ जनाको भएको छ । सिभिल अस्पतालमा छ, एभरेष्ट र फ्रन्टलाइन अस्पतालमा तीन–तीन, काठमाडौं मेडिकल कलेज सिनामंगलमा दुई, वयोधा अस्पतालमा दुई र त्रिवि शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको छ ।

काठमाडौं बाहिर भेरी अस्पतालमा पाँच, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई, बिएनसी अस्पताल बिर्तामोडमा एक र बिर्तासिटी अस्पतालमा एक जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

दुई दिनयताको घटनामा मृत्यु र घाइतेको यो तथ्याङ्कले जनजी आन्दोलनले देशको स्वास्थ्य प्रणालीमा कस्तो दबाब सिर्जना गरेको छ भन्ने देखाएको छ । उपचारत घाइतेहरूको स्वास्थ्य अवस्था अझै गम्भीर भएकाले थप मृतकको संख्या बढ्ने आशंका पनि कायम छ, जसले आगामी दिनमा सरकारी संयन्त्रलाई अझ गम्भीर चुनौती दिने संकेत गर्छ ।