युएईविरुद्ध भारत नौ विकेटले विजयी:एसिया कप क्रिकेट

दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा बुधबार सम्पन्न एसिसी एसिया कप क्रिकेटमा साविक विजेता भारतले विजयी सुरुआत गरेको छ। उद्घाटन खेलमै भारतले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई सहज रुपमा नौ विकेटले पराजित गर्यो।
टस जितेर पहिले ब्याटिङ गरेको युएई १३.१ ओभरमै समेटिँदै ५७ रनमा अलआउट भयो। टोलीका लागि ओपनर अलिशान सराफुले २२ रन र कप्तान मोहम्मद वासिमले १९ रन जोड्नबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। भारतीय बलिङ आक्रमणसमक्ष युएईको मध्यम तथा तल्लो क्रम पूर्ण रूपमा धराशायी भएको देखियो।
भारतका लागि स्पिनर कुलदीप यादवले घातक प्रदर्शन गर्दै चार विकेट लिए। शिवम दुबेले तीन विकेट लिन सफल भए भने वरुण चक्रवर्ती, अक्षर पटेल र जसप्रित बुमराहले एक–एक विकेट हात पारे।
५८ रनको सामान्य लक्ष्य पछ्याउन मैदान उत्रिएको भारतले मात्र ४.३ ओभरमा एक विकेटको क्षतिमा आवश्यक रन पुरा गर्यो। ओपनर अभिषेक शर्माले सर्वाधिक ३० रन बनाए भने शुभमन गिल २० रनमा अविजित रहे। कप्तान सूर्यकुमार यादवले सात रन जोडे। युएईका जुनैद सिद्धिकीले एकमात्र विकेट लिन सफल भए।
यससँगै भारतले एसिया कप अभियान सकारात्मक ढंगले सुरु गरेको छ। सुरुवाती खेलमै बल र व्याट दुवैमा प्रभावशाली प्रदर्शनले टोलीको आत्मविश्वास उच्च बनाएको छ, जसले प्रतियोगिताका आगामी खेलहरूमा थप प्रतिस्पर्धात्मक माहोल सिर्जना गर्ने संकेत गरेको छ।