समाचार

शान्तिको अपेक्षा:फोहोर उठाउँदै

शान्तिको अपेक्षा:फोहोर उठाउँदै

भदौ २३ गते सोमबार काठमाडौँ उपत्यकामा जेनजी आन्दोलन हिंसात्मक रूपमा नियन्त्रणबाहिर गएपछि स्थिति भयावह बनेको थियो। २३ जनाको ज्यान गएको, सिंहदरबारलगायत प्रमुख सरकारी कार्यालय, निजी आवास, व्यापारिक प्रतिष्ठान र उद्योगहरूमा आगजनी, लुटपाट र तोडफोडका घटना भएपछि मङ्गलबार रातिदेखि नेपाली सेनाको नेतृत्वमा शान्ति सुरक्षाका लागि सेना परिचालन गरिएको हो। बुधबार उपत्यकाको अवस्था भने शान्तिउन्मुख देखियो, जहाँ जेनजी समूहका प्रतिनिधि, स्थानीय समुदाय र महानगरपालिकाका कर्मचारीहरू मिलेर सडक, चोक, गल्ली सफा गर्न जुटेका थिए।

बानेश्वरस्थित संसद् भवन अगाडिका फोहोर सफाइ गर्न आफ्ना दुई छोरीसहित आएका रामबहादुर ऐरले सोमबारको हिंसाले आफूलाई गहिरो चोट पुर्‍याएको बताए। उनका अनुसार, “मेरा यी दुई छोरी छन्, उनीहरू जस्तै अरूका पनि सपना छन्। यस्ता घटना अब दोहोरिनु हुँदैन।” उनले वार्ता र संवादबाटै समाधान खोज्नुपर्नेमा जोड दिए।

जेनजी समर्थक युवाहरूले बुधबार “सफा गरौँ, सद्भाव राखौँ” भन्ने नारासहित कुचो, झाडु र बोरा बोकेर संसद् भवनदेखि आसपासका सडक सफा गरेका थिए। अनिष ठकुरी नाम गरेका एक प्रतिनिधिले सञ्चारकर्मीहरूसँग कुरा गर्दै अब वार्ताको बाटो खुलेको र नयाँ सरकार गठनको आशा रहेको बताए। उनले भने, “हामीलाई मौका दिइयो भने देशको नेतृत्व लिन तयार छौँ, भ्रष्टाचार गर्ने होइन, बरु मैले गल्ती गरे गोली खान तयार छु।”

सिंहदरबार क्षेत्रभित्रको दृश्य अझै विध्वस्त छ। मुख्य भवनमा हालै गरिएको ठूलो लगानीको पुनर्निर्माण कार्य पनि नराम्ररी क्षतिग्रस्त भएको छ। संसद् भवनभित्र कालै भएका कोठाहरूमा अझै धुवाँको गन्ध फैलिएको छ। कर्मचारीहरू आवश्यक कागजात र तथ्यांकबारे चिन्तित छन्। सर्वोच्च अदालतदेखि सिंहदरबारसम्मका सरकारी कार्यालयका डाटा हेटौँडास्थित केन्द्रीय डाटा सेन्टरमा सुरक्षित राखिएको डाटा व्यवस्थापन केन्द्रका प्रमुख मनीष भट्टराईले बताए। उनका अनुसार, नष्ट भएका फाइलहरू पुनःस्थापना गर्न रिकभरी प्रक्रिया सुरु गर्न सकिनेछ, तर त्यसका लागि सरकारले औपचारिक अनुमति दिनुपर्नेछ।

जेनजी समूहका प्रतिनिधिहरूले सरकारी तथ्यांक नष्ट गर्ने कुनै योजना नभएको दाबी गरेका छन्। उनीहरूको भनाइमा, “आगजनी रोक्न खोज्दा पनि परिस्थितिले नियन्त्रण गुमाएको हो।” यद्यपि, सिंहदरबार क्षेत्रमा बुधबारसम्म पनि आगो निभाउने कार्य जारी थियो।

थानकोट प्रहरी कार्यालय, डिल्लीबजार र सुन्धारालगायतका जेल क्षेत्रहरूमा भने बुधबार पनि अशान्ति कायम रह्यो। भर्खरै बनेको हाइभिजन भवनमा लागेको आगो नियन्त्रणमा लिन नसकिँदा क्षति अझै बढ्दै छ। स्थानीय बासिन्दाहरूले प्रहरी, सशस्त्र प्रहरी र सेनाको संयुक्त सुरक्षा निगरानी थप कडाइका साथ गर्नुपर्ने माग गरेका छन्।

बुधबार सिंहदरबारदेखि नागढुङ्गासम्म सैनिक गस्ती बाक्लो थियो। संसद् भवन वरिपरिको सडकमा सफाइ भइरहे पनि भित्र ध्वस्त संरचना र नष्ट भएको सरकारी दस्तावेजको गन्ध अझै बाँकी छ। धेरै स्थानीय र सुरक्षाकर्मीहरूले चाँडो राजनीतिक सहमति भई स्थायित्व फर्कनुपर्ने आवश्यकता औंल्याए। वार्ता ढिलो भए अर्को तनाव चुलिन सक्ने चिन्ता उनीहरूमा छ।

काठमाडौँ उपत्यकाले सोमबारको अन्धकारमय हिंसा पछि बुधबार आशाको पहिलो किरण अनुभव गर्यो। तर, घाउ अझै गहिरा छन्—दुवै तर्फको पीडा चिर्न संवाद, जवाफदेही नेतृत्व र दीर्घकालीन समाधान अपरिहार्य देखिन्छ।