भाटभटेनीको दोस्रो तल्लाबाट जलेको एक शव फेला

धरान उपमहानगरपालिकाको पुतली लाइनस्थित भाटभटेनी सुपरमार्केटमा भएको भीषण आगलागीपछि खोजतलास जारी रहँदा एक जनाको जलेर खरानी भएको अवस्थामा शव भेटिएको छ। धरान–१० का वडाध्यक्ष बिबेक राईका अनुसार दुई दिनअघि जेनजी आन्दोलनकै क्रममा अराजक समूहले आगो लगाएको सुपरमार्केटमा शुक्रबार पूर्ण रूपमा आगो निभाएपछि दोस्रो तल्लामा खप्पर, दाँत र हड्डीका केही अंश मात्र फेला परेका हुन्।
राईले अवशेष कस्को हो भन्ने तत्काल थाहा नहुने र डीएनए परीक्षणपछि मात्र पहिचान हुने बताएका छन्। प्रहरीले शवलाई मुचुल्का उठाएर पोष्टमार्टमका लागि तयारी गरेको छ। घटनास्थलमा खोजतलास गर्ने क्रममा अझै दुई जनाको शव भेटिन सक्ने आशंका स्थानीयहरूले व्यक्त गरेका छन्। उनीहरूको भनाइअनुसार आगजनी भएको समयमा कम्तीमा तीन जना प्रदर्शनकारी भित्रै फसेका थिए।
जेनजी आन्दोलनको दोस्रो दिनमा भाटभटेनी जलेर खरानी भएपछि धरानमा त्रास र अनिश्चितता अझै कायमै छ। एक शव फेला परे पनि बाँकी बेपत्ता भएकाहरूको अवस्था अज्ञात रहँदा पीडित परिवार र समुदाय उत्तर खोजिरहेका छन्।