समाचार

बाँकेमा आगजनीपछि नेपालगन्ज–कोहलपुरका सरकारी कार्यालयले सेवा स्थगित, १०–२० अर्ब क्षतिको अनुमान!

बाँकेमा आगजनीपछि नेपालगन्ज–कोहलपुरका सरकारी कार्यालयले सेवा स्थगित, १०–२० अर्ब क्षतिको अनुमान!

बाँकेमा जेन–जी आन्दोलनको उग्र रूपपछि नेपालगन्ज र कोहलपुरस्थित सरकारी कार्यालयहरूको सेवा हालका लागि ठप्प भएको छ। दर्जनभन्दा बढी निकायहरूले औपचारिक सूचना जारी गर्दै, कार्यालय भवनमा भएको आगजनीले सम्पूर्ण कागजपत्र, फर्निचर, कम्प्युटरदेखि सवारीसाधनसम्म नष्ट भएपछि सेवा प्रवाह असम्भव बनेको बताएका छन्। नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला तथा उच्च अदालत इजलास, मालपोत, भूमिसुधार, नापी, भन्सार, आन्तरिक राजस्व, राजस्व अनुसन्धान, यातायात, हुलाक, कृषि ज्ञान केन्द्र लगायतका कार्यालयहरू यसमा पर्छन्।

नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी प्रमुख रामहरी शर्माले “कार्यालय पूर्ण रूपमा ध्वस्त भएकाले केही दिनभित्र सेवा दिन सक्ने अवस्था छैन” भन्दै कर्मचारीहरूले बचाउन सकिने कागजपत्र र सामग्री सुरक्षित गर्ने प्रयास गरिरहेको बताए। उनले यसले जनतालाई हुने असुविधाप्रति दुःख व्यक्त गरे।

सुरक्षा निकायहरूले आगजनी र तोडफोडमा जेन–जी आन्दोलनका साथै अन्य समूहहरूको समेत ठूलो संलग्नता देखिएको प्रारम्भिक निष्कर्ष दिएको र विस्तृत छानबिन अघि बढाइने जनाएका छन्। सरकारी अनुमान अनुसार बाँकेका विभिन्न निकायमा भएको आगलागी र लुटपाटबाट करिब १० देखि २० अर्ब रुपैयाँ बराबरको क्षति भएको देखिएको छ।

घटनापछि बिहीबार बिहानदेखि कर्मचारीहरू नष्ट नभएका कागजपत्र सुरक्षित गर्ने, भवनभित्रको फोहोर हटाउने र अस्थायी रूपमा आवश्यक सामग्री अन्यत्र सार्ने काममा जुटिरहेका छन्।

आन्दोलनले देशभरि चर्को असर पारेको पृष्ठभूमिमा गत सोमबार मात्र काठमाडौंसहित विभिन्न स्थानमा १९ जनाको मृत्यु भएको थियो, जसमा बाँकेका दुई जना पनि परेका थिए। त्यसैको भोलिपल्टै आक्रोशित युवाहरूले बाँकेलगायतका सरकारी संरचनामा आगजनी गरी ठूलाे क्षति पुर्याए।

यस घटनाले स्थानीय प्रशासन मात्र होइन, सामान्य नागरिकसमेत दैनिकीमै प्रत्यक्ष प्रभावित पारेको छ। अब बाँकेका जनताले सेवाको विकल्प र राज्यले पुनर्निर्माणमा देखाउने तत्परतामाथि आँखा टिकाएका छन्।