समाचार राजनीति

सभामुख–अध्यक्षको संयुक्त चेतावनी: संविधान बाहिर नजाऊ, लोकतन्त्र डगमगिन्छ!

सभामुख–अध्यक्षको संयुक्त चेतावनी: संविधान बाहिर नजाऊ, लोकतन्त्र डगमगिन्छ!

प्रतिनिधि सभा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले देशमा बढ्दो अस्थिरता र हिंसात्मक घटनाबीच सबै पक्षलाई विधिको शासन र संविधानवादप्रति दृढ रहन आह्वान गरेका छन्।

बिहीबार संयुक्त वक्तव्य सार्वजनिक गर्दै दुवै शीर्ष संसदीय पदाधिकारीले आन्दोलनरत पक्षका मागलाई सम्बोधन गर्दै लोकतन्त्रलाई अझ बलियो र समृद्ध बनाउन सबै राजनीतिक शक्तिलाई जिम्मेवार बन्नुपर्ने बताएका हुन्। वक्तव्यमा भनिएको छ, “विधिको शासन र संविधानवादबाट बाहिर जानु हुँदैन भन्नेमा हामी दृढ छौं। आन्दोलनका माग सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन हामी सबैलाई अपिल गर्दछौं।”

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यकामा व्यापक क्षति पुगेको थियो। संघीय संसद भवन, सिंहदरबारस्थित संसद सचिवालय, सरकारी कार्यालयहरू, निजी आवास, सञ्चार गृह र व्यापारिक प्रतिष्ठानमा आगजनी, तोडफोड र लुटपाट भएका थिए। ती घटनाले मुलुकको राजनीतिक मात्र नभई सामाजिक तथा आर्थिक पक्षमा पनि ठूलो आघात पुर्‍याएको छ।

सभामुख र राष्ट्रिय सभाका अध्यक्षले घटनामा ज्यान गुमाउने युवाहरू र प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, राज्य संयन्त्रलाई उपचार व्यवस्थामा कुनै कमी हुन नदिने विशेष आग्रह पनि गरेका छन्।

वक्तव्यमा विद्यमान विषम परिस्थितिमा नागरिक स्वतन्त्रता, सार्वभौमसत्ता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको रक्षा गर्दै संविधानिक प्रक्रियामार्फतै समाधान खोज्ने राष्ट्रपति कार्यालयको पहलप्रति पनि समर्थन व्यक्त गरिएको छ।

देश गम्भीर मोडमा उभिँदै गर्दा शीर्ष संसदीय नेतृत्वको संयुक्त अपिलले राजनीतिक संवाद र संवैधानिक मार्गप्रतिको प्रतिबद्धता पुनः स्मरण गराएको छ, तर यसलाई व्यवहारमा कसरी कार्यान्वयन गरिन्छ भन्ने प्रश्न अझै खुला छ।