समाचार देश

संवैधानिक समाधानको मागसहित बागलुङमा वकिल र पत्रकारको संयुक्त मौन र्‍याली!

संवैधानिक समाधानको मागसहित बागलुङमा वकिल र पत्रकारको संयुक्त मौन र्‍याली!

बागलुङमा जेनजी आन्दोलनपछि देखिएको अस्थिरतालाई संवैधानिक बाटोमार्फत समाधान गर्नुपर्ने मागसहित कानुन व्यवसायी र पत्रकारले संयुक्त दबाब सिर्जना गरेका छन्। शुक्रबार दिउँसो उच्च अदालत बार इकाई बागलुङ र नेपाल पत्रकार महासंघ बागलुङ शाखाले मौन र्‍याली आयोजना गर्दै राज्यको ध्यानाकर्षण गराएका हुन्।

र्‍यालीमा सहभागी वकिलहरूले कालो कोट र संविधानको किताब बोकेका थिए भने पत्रकारहरूले ‘राष्ट्र बचाऔँ, संविधान जोगाऔँ’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। आयोजकहरूले यसलाई केवल प्रतीकात्मक गतिविधि नभई दीर्घकालीन अभियानको सुरुवात भन्दै बार र पत्रकार महासंघ संयुक्तरूपमा आगामी दिनमा थप क्रियाकलाप अघि बढाउने योजना सार्वजनिक गरेका छन्।

र्‍यालीको नेतृत्व उच्च अदालत बार इकाई बागलुङका अध्यक्ष गीता श्रीष र नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा ‘अविरल’ ले गर्नुभयो। उनीहरूले संवैधानिक मार्गबाटै मुलुकलाई निकास दिन सकिने ठहर जनाउँदै, संविधानलाई बचाउन सकियो भने यही संविधानले राष्ट्रलाई सुरक्षित राख्ने विश्वास प्रकट गरे।

बागलुङमा तीन दिनदेखि दिउँसो निषेधाज्ञा र राति कर्फ्यू जारी छ। त्यस्तो परिस्थितिमा समेत कानुन व्यवसायी र पत्रकारको संयुक्त उपस्थिति स्थानीय जनजीवनमा कानुनी शासन र लोकतान्त्रिक मूल्यप्रतिको आग्रहको स्पष्ट सन्देश बनेको छ। बदलिँदो परिस्थितिमा यो अभियान केवल बागलुङमै सीमित नहुने र देशभर संवैधानिक चेतना फैलाउने आधार बन्न सक्ने अनुमान गरिएको छ।