समाचार राजनीति

पूर्वराष्ट्रपति रामवरण यादवद्वारा जेन–जी आन्दोलनको हिंसा र तोडफोडप्रति दुःख, संवैधानिक मार्गबाट समाधानको आह्वान!

पूर्वराष्ट्रपति रामवरण यादवद्वारा जेन–जी आन्दोलनको हिंसा र तोडफोडप्रति दुःख, संवैधानिक मार्गबाट समाधानको आह्वान!

पूर्वराष्ट्रपति डा. रामवरण यादवले भदौ २३ र २४ गते देशभर भएको ‘जेन–जी’ आन्दोलनका क्रममा देखिएको हिंसा, आगजनी र तोडफोडप्रति गहिरो चिन्ता र पीडा व्यक्त गर्नुभएको छ। उहाँले जनधनको सुरक्षामा ढिलाइ नगरि संवैधानिक मार्गचित्रमार्फत संकट समाधान गर्न जिम्मेवार निकायलाई आग्रह गर्नुभयो।

शुक्रबार सार्वजनिक गर्नुभएको वक्तव्यमा डा. यादवले नेपालको संविधान २०७२ नै वर्तमान अस्थिरताको समाधान गर्ने एक मात्र आधार रहेको उल्लेख गर्दै भन्नुभयो, “यस संविधानको सही कार्यान्वयनमार्फत मात्र जेन–जी पुस्ताका आकांक्षा र उद्देश्यहरू पूरा गर्न सकिन्छ।” उहाँले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पीडित परिवारलाई धैर्यधारणको शक्ति मिलोस् भनी कामना गर्नुभयो।

युवाहरूले भ्रष्टाचारको अन्त्य, अभिव्यक्ति स्वतन्त्रता र उत्तरदायी शासनजस्ता अत्यन्तै स्वाभाविक माग उठाएको भन्दै डा. यादवले आन्दोलनलाई वैध ठहर गरे पनि त्यसका नाममा भएको विनाश र हिंसाका कारक पहिचान अपरिहार्य भएको टिप्पणी गर्नुभयो। उहाँले सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत, प्रदेशसभा, स्थानीय तहका संरचनालगायत संवैधानिक तथा ऐतिहासिक धरोहरमा भएको तोडफोड नियोजित देखिएको भन्दै यसको वास्तविक उद्देश्य र योजनाकारलाई चिन्नु राष्ट्रको एकता र भविष्यका लागि आवश्यक रहेको औंल्याउनुभयो।

औद्योगिक र व्यावसायिक प्रतिष्ठानमा भएको क्षतिले लाखौं रोजगारी प्रभावित हुनुका साथै राष्ट्रिय अर्थतन्त्रलाई ठूलो धक्का पुर्याएको भन्दै उहाँले यस्ता घटनाबाट मुलुकलाई जोगाउन सबैलाई सचेत रहन आह्वान गर्नुभयो। डा. यादवले आन्दोलनका पीडादायी क्षणले नेपाली समाजलाई स्तब्ध तुल्याए पनि संविधानमै आधारित समाधान खोज्दा मात्र आगामी पुस्ताले सुरक्षित भविष्य पाउने विश्वास व्यक्त गर्नुभयो।