समाचार

धनकुटामा जनजीवन क्रमशः सहज!

धनकुटामा जनजीवन क्रमशः सहज!

 देशैभर फैलिएको जेन–जी आन्दोलनले दैनिक जीवन अस्तव्यस्त बनाइरहेको बेला धनकुटामा भने परिस्थिति क्रमशः सामान्यतर्फ फर्किन थालेको छ। शुक्रबारदेखि यहाँको बजार, यातायात र स्थानीय चहलपहल बढ्दै गएसँगै जनजीवन सहज बन्दै गएको देखिएको छ।

धनकुटा प्रशासनले बिहानदेखि दिउँसोसम्म निषेधाज्ञा जारी गरे पनि केही खुकुलोपन दिइएको थियो। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार दैनिक आवश्यकता र जनजीवनलाई ध्यानमा राखी निषेधाज्ञामा क्रमशः सहजता ल्याइँदै छ। उहाँले भन्नुभयो, “निषेधाज्ञालाई केही खुकुलो बनाउँदै लैजाने र सहजीकरण गर्दै जानुपर्छ।”

तर राति भने सुरक्षाकर्मीले कडाइका साथ कर्फ्यू लागू गरेका छन्। नेपाली सेनाले बेलुकी ८ बजेदेखि बिहान ४ बजेसम्म लागू हुने कर्फ्यूको सूचना माइकिङमार्फत गरेको छ। कर्फ्यू क्षेत्र उत्तरमा कागतेदेखि, पूर्वमा खनियाबास, पश्चिममा औद्योगिक ग्राम र दक्षिणमा चुलिबनसम्म तोकिएको छ। सेनाले निगरानी कडाइका साथ गरिरहेको प्रशासनले जनाएको छ।

दिउँसो बजार पसल आंशिक रूपमा खुल्दा गाउँबासिन्दा आवश्यक किनमेलका लागि शहर पस्ने गरेका छन्। यसले चहलपहल बढाउनुका साथै केही यातायात सेवासमेत सञ्चालनमा आएका छन्। धनकुटाबाट तेह्रथुम, भोजपुर, संखुवासभा र धरानतर्फ छोटा तथा लामो दुरीका सवारी साधन चल्न थालेपछि आवतजावतमा सहजता आएको छ।