समाचार

पोखरा महानगरपालिकाले अत्यावश्यकबाहेकका सेवा बन्द, स्वास्थ्य र खानेपानी निरन्तर रहने!

पोखरा महानगरपालिकाले अत्यावश्यकबाहेकका सेवा बन्द, स्वास्थ्य र खानेपानी निरन्तर रहने!

देशभर जेन–जी आन्दोलनका घटनाले तनाव बढेको बेलामा पोखरा महानगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले शुक्रबार हस्तलिखित सूचना जारी गर्दै नगरकार्यपालिका र वडा कार्यालयमा तोडफोड तथा क्षति पुगेको र कास्की प्रशासनले कर्फ्यू आदेश जारी गरिसकेको परिस्थितिलाई मध्यनजर गर्दै अर्को सूचना नआएसम्म सामान्य प्रशासनिक सेवा रोकिएको जानकारी दिनुभएको हो।

सूचनामा भनिएको छ, “जेन–जी आन्दोलनका क्रममा पोखरा महानगरपालिकाको प्रशासनिक भवन र वडा कार्यालयमा क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले कर्फ्यू आदेश जारी गरिसकेको अवस्थालाई दृष्टिगत गरी अर्को सूचना नआएसम्म महानगर र वडा कार्यालयबाट अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रवाह बन्द रहनेछन्।”

महानगरले स्वास्थ्य, सरसफाइ र खानेपानीजस्ता आधारभूत आवश्यक सेवा भने निरन्तर सञ्चालन हुने प्रष्ट पारेको छ। तर नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने अन्य कागजी प्रक्रिया, अनुमतिपत्र, प्रशासनिक तथा सार्वजनिक सेवा अस्थायी रूपमा स्थगित गरिएका छन्।

पोखराको स्थानीय तहमा सेवामुखी काम ठप्प हुनुले सामान्य जनजीवन थप कठिनाइमा पर्ने देखिएको छ। आन्दोलनको तरंगले शहरको प्रशासनिक संरचना नै प्रभावित भएको वर्तमान अवस्थाले शान्ति र स्थायित्वको आवश्यकता झन् प्रस्ट्याइरहेको छ।