समाचार

गृह मन्त्रालय पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सारिने!

गृह मन्त्रालय पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सारिने!

जेन–जी आन्दोलनका क्रममा ध्वस्त भएको गृह मन्त्रालयलाई अब पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सार्ने तयारी भएको छ । हालसम्म मन्त्रालय बसेको भवन प्रयोग गर्न अयोग्य बनेपछि यस्तो निर्णय गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (ओपिएमसी) ले प्रयोग गर्नुपर्ने नयाँ भवन गृह मन्त्रालयका लागि उपलब्ध हुन नसक्दा वैकल्पिक रूपमा पुरानो सामान्य प्रशासन मन्त्रालय रोजिएको हो । भदौ २४ गतेको आन्दोलनमा ओपिएमसी समेत ध्वस्त भएको थियो, जसको प्रभाव गृह मन्त्रालयको व्यवस्थापनमा प्रत्यक्ष परेको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले मन्त्रालय अहिले बसेको भवन सुरक्षा कारणवश प्रयोगयोग्य नरहेको बताए । उहाँका अनुसार मन्त्रालयलाई नयाँ स्थानमा सार्ने तयारी ओपिएमसीसँगको समन्वयमा भइरहेको छ ।

यसअघि त्यही भवनमा परराष्ट्र मन्त्रालयलाई सार्ने चर्चा भए पनि पछिल्लो परिस्थिति बदलिँदा गृह मन्त्रालयलाई प्राथमिकतामा राखिएको हो ।

यद्यपि, मन्त्रालयको सुरक्षा समन्वय महाशाखा अन्तर्गतको ‘कन्ट्रोल रुम’ भने अझै भग्नावशेषमै सञ्चालन भइरहेको छ । यो शाखाले देशभरको सुरक्षा अवस्थाको निगरानी गर्दै विपत्मा परेका स्वदेशी तथा विदेशीलाई उद्धार गर्न हेलिकोप्टर व्यवस्थापनसम्म गर्ने जिम्मेवारी निर्वाह गरिरहेको छ ।

राजनीतिक अस्थिरता र भौतिक संरचनामा परेको क्षतिको बीचमा पनि गृह मन्त्रालयले सुरक्षा संयन्त्रलाई निरन्तर सञ्चालनमा राख्नुपर्ने चुनौती झन् स्पष्ट भएको छ ।