समाचार राजनीति

राष्ट्रपतिबाट सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त, आज राति शपथ ग्रहण!

राष्ट्रपतिबाट सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त, आज राति शपथ ग्रहण!

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार साँझ पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ। राष्ट्रपति कार्यालयका सल्लाहकार किरण पोखरेलका अनुसार उहाँको शपथग्रहण समारोह राति ९ बजे राष्ट्रपति भवन शीतल निवासमा तय भएको छ।

शपथ ग्रहणपछि कार्कीले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने र पहिलो बैठक सिंहदरबारस्थित नयाँ गृहमन्त्रालय भवनमै बस्ने तयारी गरिएको स्रोतले जनाएको छ। राष्ट्रपति र नवनियुक्त प्रधानमन्त्रीबीच भएको सहमतिअनुसार मन्त्रिपरिषद्को पहिलो निर्णय प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने रहेको छ। सो सिफारिसलाई राष्ट्रपतिले अनुमोदन गरेपछि संसद विघटन हुने र त्यसपछि अन्तरिम सरकारले आगामी निर्वाचनको मिति तोक्ने प्रक्रिया अघि बढ्ने छ।

प्रधानमन्त्री पद खाली हुने अवस्था भदौ २३ र २४ गते देशभर भड्किएको ‘जेनजी’ आन्दोलनपछि बनेको हो। आन्दोलन उग्रिँदै जाँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए। त्यसबेला संघीय संसद भवन, सिंहदरबार, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालतदेखि शीर्ष नेताहरू र केही व्यापारीका आवाससमेत आक्रोशित समूहको निशानामा परेका थिए।

जेनजी आन्दोलनकारीहरूले अघि सारेको प्रस्तावअनुसार नै राष्ट्रपति पौडेलले पूर्व प्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिनुभएको हो। राजनीतिक व्यवस्थाप्रति अविश्वास र असन्तोषले उचालिएको आन्दोलनको चपेटामा मुलुक परेको वर्तमान अवस्थामा नयाँ प्रधानमन्त्रीको नेतृत्व मुलुकलाई स्थायित्वतर्फ डोर्‍याउने वा अर्को विवादको द्वार खोल्ने भन्ने प्रश्न अबको प्रमुख विमर्श बन्ने देखिएको छ।