नयाँबसपार्कस्थित लोत्से मलमा आगजनी, ३५ करोडभन्दा बढीको क्षति भएको प्रालिको दाबी

काठमाडौंको नयाँबसपार्कस्थित लोत्से मलमा हालै भएको आगजनीले ठूलो आर्थिक क्षति पुर्याएको छ। भदौ २४ गते राति करिब ९ बजे जेनजी आन्दोलनका क्रममा सुरु भएको आगलागी भोलिपल्ट बिहान ५ः३० बजे मात्र नियन्त्रणमा आएको थियो। लोत्से बहुउद्देश्यीय प्रालिका अनुसार सो आगलागीले ३५ करोड रुपैयाँभन्दा बढी नोक्सानी भएको छ।
कम्पनीका अध्यक्ष तथा सञ्चालक दिपक कुँवरका अनुसार दसैँ लक्षित बिक्रीका लागि भित्र्याइएका कपडासहित ५० भन्दा बढी पसल पूर्णरूपमा जलेर नष्ट भए। उनले कपडाबाहेक मोबाइल पसल, रेष्टुरेन्टलगायतका अन्य व्यवसाय पनि प्रभावित भएको बताए।
यो पहिलोपटक लोत्से मल आक्रमणमा परेको होइन। २०७९ फागुन १ गते यातायात मजदुर आन्दोलनका क्रममा समेत सो मलमा तोडफोड र आगजनी भएको थियो। त्यतिबेला मोबाइल पसल लुटपाट हुनुका साथै प्रहरीका भ्यानसमेत जलाइएको थियो।
लगातारका घटनाले व्यवसायीको मनोबल खस्किँदै गएको कुँवरको भनाइ छ। उनले भने, ‘‘आगजनी र तोडफोडले नेपालमा व्यवसाय गर्ने वातावरण क्रमशः हराउँदै गएको छ। यसरी व्यावसायिक भवनमाथि आक्रमण भइरहँदा व्यापारी मात्र होइन, सम्पूर्ण लगानीकर्तामाझ पनि असुरक्षाको भावना बढेको छ।’’
कुँवरले मलभित्र भएका लुटपाट र आगजनीका घटनामा संलग्नलाई सीसी क्यामेरा फुटेजका आधारमा कडा कारबाही गर्न माग गरे।
काठमाडौँ महानगरपालिकासँग सार्वजनिक–निजी साझेदारीमा सञ्चालित लोत्से मल २०७४ सालमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो। पुनःपुनः आक्रमण र क्षतिको श्रृंखलाले राजधानीकै प्रमुख व्यावसायिक केन्द्रमध्ये एक मानिएको यो संरचनाको भविष्यबारे नयाँ प्रश्न खडा गरेको छ।