जेन–जेडको आन्दोलनले जन्मायो बेबी बुमर प्रधानमन्त्री: पुस्तागत द्वन्द्वले ल्याएको अचम्मको मोड!

नेपालको सडक आन्दोलनमा अगाडि रहेका जेन–जेड (१३ देखि २८ वर्ष उमेर समूह) का युवाले आफैँ प्रधानमन्त्री बन्ने वा आफ्नो पुस्तालाई अगाडि सार्ने अपेक्षा गरेका थिए । तर राजनीतिक नाट्ययात्राले आश्चर्यजनक मोड लिँदै अन्ततः प्रधानमन्त्रीको कुर्सीमा पुगेको भने बेबी बुमर पुस्ताका प्रतिनिधि बनेका छन् ।
बेबी बुमर भनेर चिनिने पुस्ता सन् १९४६ देखि १९६४ बीच जन्मिएका, अहिले ६१ देखि ७९ वर्ष उमेर समूहका व्यक्तिहरूलाई जनाउँछ । यही पुस्ताका नेता प्रधानमन्त्री बनेपछि आन्दोलनको नारा र परिणामबीचको गहिरो विरोधाभास सतहमा आएको छ ।
विश्लेषकहरू भन्छन्, जेन–जेड पुस्ता डिजिटल प्लेटफर्म र सडक आन्दोलनमा त सक्रिय देखियो, तर निर्णय क्षणमा ठूला पार्टी र पुराना पुस्ताकै नियन्त्रणले अन्तिम परिणाम तय गरिदियो । मिलेनियल (२९–४४ वर्ष) र जेन–एक्स (४५–६० वर्ष) बीचका नेताहरू पनि सहायक भूमिकामा मात्र देखिए ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई मिलेनियल अभियन्ता सुदन गुरुङले प्रधानमन्त्री बनाउन अघि सारे पनि सत्ता समीकरणले अन्ततः बेबी बुमर पुस्ताबाटै प्रधानमन्त्री जन्माएको छ । यसले प्रश्न उठाएको छ—जेन–जेड आन्दोलनको मूल उद्देश्य राजनीतिक संरचना बदल्नु थियो कि पुराना पुस्ताको हात बलियो बनाउनु?
राजनीतिक विश्लेषकको भनाइ छ, “जेन–जेडको नाममा भएको आन्दोलनले अन्ततः पुरानो पुस्ताकै वर्चस्व पुनःस्थापित गरिदिएको छ ।”
नेपालको राजनीतिक भविष्य अहिले पुस्तागत द्वन्द्वकै खतरनाक दोबाटोमा उभिएको देखिन्छ—जहाँ सडकमा युवा छरिएका छन्, तर कुर्सी भने अझै पनि बेबी बुमर पुस्ताको हातमा पुगेको छ ।