समाचार

राष्ट्रियतादेखि सेनापतिसम्मको योगदानको स्मरण गर्दै संयुक्त राष्ट्रसङ्घले कार्कीलाई पठायो बधाई

राष्ट्रियतादेखि सेनापतिसम्मको योगदानको स्मरण गर्दै संयुक्त राष्ट्रसङ्घले कार्कीलाई पठायो बधाई

 नेपालका लागि संयुक्त राष्ट्रसङ्घकी आवासीय संयोजक हाना सिङ्गर हम्डीले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्। शुक्रबार संयुक्त राष्ट्रसङ्घ कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्ने कार्कीलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिएको छ।

विज्ञप्तामा नेपालको शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको जनअपेक्षामा संयुक्त राष्ट्रसङ्घको निरन्तर साथ रहने उल्लेख छ। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र युवापुस्ताका नेताहरूले परिवर्तनको प्रक्रियामा पुर्‍याएको योगदानलाई समेत विशेष स्मरण गरिएको छ।

त्यसैगरी, हालैको आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै संयुक्त राष्ट्रसङ्घले ती बलिदानलाई लोकतान्त्रिक यात्राको आधारशिला भन्दै सम्मान व्यक्त गरेको छ।

नवनियुक्त प्रधानमन्त्रीलाई दिइएको समर्थनले नेपालको राजनीतिक संक्रमणलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ। यसै सन्दर्भमा संयुक्त राष्ट्रसङ्घले भविष्यमा पनि नेपालका जनताको आकाङ्क्षा साकार पार्ने यात्रामा सहकार्य र सहयोग निरन्तर रहने प्रतिबद्धता दोहोर्याएको छ।