आन्दोलनपछि शनिबारदेखि देशभर सार्वजनिक यातायात सञ्चालन!

शनिबारदेखि मुलुकभर सार्वजनिक यातायात फेरि सञ्चालनमा आएको छ। मंगलबारदेखि सुरु भएको ‘जेनजी’ आन्दोलनका कारण उपत्यकासहित देशका विभिन्न भागमा यातायात पूर्ण रूपमा ठप्प भएको थियो। आन्दोलन तीव्र बन्दै गएपछि यात्रु, व्यवसाय र दैनिक जीवन दुवै प्रभावित भएका थिए।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार अहिलेको अवस्थामा केन्द्रबाट औपचारिक निर्णय लिन सकिने स्थिति नभएकाले स्थानीय तह र प्रशासनसँगको सहकार्यमा यातायात पुनः सञ्चालनमा ल्याइएको हो। सिटौलाले भने, “स्थानीय प्रशासनसँग समन्वय गरेर चलाउन हामीले आग्रह गरेका छौँ।”
उनका अनुसार शनिबारदेखि लामो दूरी र छोटो दूरीका सबै प्रकारका सवारीसाधन सञ्चालनमा आएका छन्। यसअघि आन्दोलनका कारण यात्रुहरू बाटोमै अलपत्र पर्ने, कर्मचारी कार्यालय पुग्न नसक्ने र आवश्यक सेवासुविधा समेत प्रभावित भएको अवस्था देखिएको थियो।
यातायात खुल्न थालेसँगै दैनिक जीवन सामान्यतर्फ फर्किन थालेको देखिए पनि आन्दोलनपछिको राजनीतिक र सामाजिक व्यवस्थापन अझै चुनौतीपूर्ण रहने संकेत छ।