म्यानमारको राखाइनमा रातारात बम विस्फोट, १९ विद्यार्थीको मृत्यु

म्यानमारको पश्चिमी राखाइन राज्यमा भएको एक हवाई आक्रमणमा परी कम्तीमा १९ जना विद्यार्थीको ज्यान गएको पुष्टि भएको छ । सशस्त्र समूह अराकान आर्मी (एए) का अनुसार, क्याउक्ताव नगरपालिकामा रहेका दुई निजी विद्यालयलाई लक्षित गरी आक्रमण गरिएको थियो । मध्यरातपछिको समयमा भएको विस्फोटमा १५ देखि २१ वर्ष उमेर समूहका विद्यार्थी मारिएका र कम्तीमा २२ जना घाइते भएको समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एएले यस घटनाको जिम्मेवारी सैनिक सरकारमाथि तोकेको छ । विज्ञप्तिमा भनिएको छ, “निर्दोष विद्यार्थीहरूको निधनले हामीलाई पीडित परिवारसरह पीडा दिएको छ।” स्थानीय सञ्चारमाध्यम म्यानमार नाउ ले उद्धृत गरेको विवरणअनुसार, सैनिक सरकारको युद्धक विमानले दुईवटा पाँच सय पाउन्डका बम विद्यालय भवनमाथि खसालेको थियो, जब विद्यार्थी निद्रामा थिए ।
बालअधिकार संरक्षण गर्ने संस्था युनिसेफले वक्तव्य जारी गर्दै घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । युनिसेफका अनुसार, राखाइन राज्यमा पछिल्ला दिनमा भइरहेका हिंसात्मक घटनाले सबैभन्दा ठूलो मूल्य बालबालिका र निर्दोष परिवारले चुकाइरहेका छन् ।
सञ्चार संस्था एएफपीले घटनाबारे थप विवरण लिन खोज्दा इन्टरनेट र फोन सेवामा अवरोधका कारण प्रत्यक्ष तथ्याङ्क संकलन गर्न नसकेको जनाएको छ । सन् २०२१ मा प्रजातान्त्रिक सरकारलाई सैनिकले हटाएपछि म्यानमारमा विभिन्न सशस्त्र समूह र सेनाबीच संघर्ष तीव्र हुँदै गएको छ । सोही संघर्षबीच सेनामाथि बारम्बार सर्वसाधारण क्षेत्रमा हवाई तथा तोप आक्रमण गरेको आरोप लाग्दै आएको छ ।