समाचार

राजविराजस्थित कारागारबाट भागेका एक कैदी मृत अवस्थामा फेला!

राजविराजस्थित कारागारबाट भागेका एक कैदी मृत अवस्थामा फेला!

सप्तरीको राजविराज कारागारबाट भागेका एक कैदी मृत फेला परेका छन्। प्रहरीका अनुसार सप्तकोसी नगरपालिका–१० सन्तपुरका ४० वर्षीय सन्तोष तामाङ शनिबार बिहान राजगढ गाउँपालिका–३ नर्घोमा रुखमा झुन्डिएको अवस्थामा भेटिएका हुन्।

प्रहरी नायब उपरीक्षक तथा सप्तरी प्रहरीका प्रवक्ता जितेन्द्रकुमार बस्नेतका अनुसार मृतकको शवलाई स्थानीयको उपस्थितिमा कानुनी मुचुल्का तयार गरी परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ। उनले तामाङका आफन्तलाई समेत खबर गरिएको जानकारी दिए।

तामाङमाथि कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएको थियो। २०७५ सालदेखि राजविराज कारागारमा कैदी जीवन बिताइरहेका उनले सात वर्ष सजाय काटिसकेका थिए।

गत भदौ २५ गते कारागारभित्र आगजनीसहित मूल ढोकाको ताल्चा तोडिएपछि २०५ कैदीबन्दी फरार भएका थिए। हाल राजविराज कारागारमा पुरुष कैदीका लागि दुई ब्लक र महिला कैदीका लागि छुट्टै एक ब्लक गरी कुल तीन ब्लक सञ्चालनमा छन्, जसमा ३९७ कैदीबन्दी राखिएका छन्।

भागेका कैदीमध्ये एकको मृत्यु यसरी भेटिनु सुरक्षा चुनौती मात्र नभई कारागार प्रणालीकै कमजोर पक्षलाई देखाउने संकेत बनेको छ। बाँकी फरार कैदीको अवस्थाबारे अझै अनिश्चितता कायमै छ।