समाचार स्वास्थ्य राजनीति

आन्दोलनमा घाइते युवासँग प्रधानमन्त्रीको प्रत्यक्ष भेट, शीघ्र स्वास्थ्य लाभको कामना

आन्दोलनमा घाइते युवासँग प्रधानमन्त्रीको प्रत्यक्ष भेट, शीघ्र स्वास्थ्य लाभको कामना

नेपालको अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की शनिबार बिहान हालैको जेन–जी आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई भेट्न अस्पताल पुगेकी छिन्। प्रधानमन्त्री बनेको दुई दिनमै उनले सिभिल अस्पताल र ट्रमा सेन्टर दुवैमा पुगेर घाइतेहरूको स्वास्थ्य अवस्था प्रत्यक्ष बुझिन्।

सिभिल अस्पतालमा उपचाररत बिरामीलाई भेट्दा कार्कीले सरकार घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने स्पष्ट प्रतिवद्धता व्यक्त गरिन्। उनले चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यक सहयोग तुरुन्त उपलब्ध गराउन आग्रह गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिन्।

ट्रमा सेन्टरमा पुग्दा पनि उनले त्यहाँका घाइतेहरूलाई भेटेर अवस्था बुझ्ने काम गरेकी थिइन्। आन्दोलनका क्रममा राजधानीलगायत विभिन्न क्षेत्रमा प्रहरीले गरेको बल प्रयोग र भिडन्तमा परी धेरै युवा घाइते भएका थिए, जसले मुलुकको राजनीतिक र सामाजिक वातावरणलाई अझ संवेदनशील बनाएको छ।

अस्पतालका बेडमा परेका ती युवासँग भेटघाट मात्र नभई प्रत्यक्ष अवस्था बुझ्ने प्रधानमन्त्री कार्कीको कदम अन्तरिम सरकारप्रति जनतामा विश्वास जगाउने प्रयासका रूपमा पनि हेरिएको छ। संघर्ष र अस्थिरताबीच उपचारमा पूर्ण जिम्मेवारी लिन गरिएको उनको प्रतिबद्धताले आगामी दिनमा सरकारको जनउत्तरदायित्व कसरी परीक्षित हुने हो भन्ने प्रश्न पनि अघि सारेको छ।