प्रधानमन्त्रीको नयाँ कार्यकक्ष तयार हुँदै– कर्मचारीले सुरु गरे सफाइ अभियान

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जेनजी आन्दोलनका क्रममा आगजनीमा परेको पाँचौँ दिनमा पनि पश्चिमतर्फको भागमा धुवाँ र आगो बलिरहेको छ। यसैबीच, नवनियुक्त प्रधानमन्त्रीका लागि वैकल्पिक कार्यकक्ष तयारीमा गरिएको छ। गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनलाई अस्थायी प्रधानमन्त्री कार्यालयमा परिणत गर्न सुरक्षाकर्मी, कर्मचारी र नेपाली सेनाले बिहानैदेखि सरसामान सार्ने काम थालेका छन्। जलेर नष्ट नभएका टेबल, कुर्सी, सोफा, कम्प्युटरलगायत सामग्री पुरानो कार्यालयबाट निकालेर नयाँ भवनतर्फ लैजाइएका छन्।
आन्दोलनले विध्वंस गरेको सिंहदरबारभित्र अधिकांश मन्त्रालय परिसर अझै अव्यवस्थित देखिन्छ। जलेका सवारी साधन, नष्ट भएका कागजपत्र र बाँकी रहेका फर्निचरहरू बिखरिएका छन्। विशेषगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा ठूलो क्षति पुगेको छ। त्यहाँ शनिबार बिदाको दिन भए पनि सचिव चुडामणि पौडेलको नेतृत्वमा कर्मचारी स्वस्फूर्त रूपमा सफाइमा जुटेका थिए। मन्त्रालयको भूमिगत पार्किङमा राखिएका सवारीसाधन पूरै जलेर धातुको ढाँचा मात्र बाँकी रहेको अवस्था देखिन्छ।
मन्त्रालयका प्रवक्ता सहसचिव शिवकुमार सापकोटाले बिहान ८ बजेदेखि नै कर्मचारीहरूले फोहर व्यवस्थापन र सफाइ सुरु गरेको बताए। उनका अनुसार तत्काल क्षतिको पूरा लगत निकाल्न कठिन भए पनि गाडी, कम्प्युटर, टेलिभिजन सेट, फर्निचरलगायत उपकरण नष्ट भएको छ। “क्षतिको विवरण संकलनका लागि टोली खटाइएको छ,” उनले भने, “सफाइपछि मर्मतसम्भार सुरु गर्नेछौँ।”
सापकोटाले संरचनागत क्षति नभएका स्थानलाई पूर्ववत् अवस्थामा ल्याउन कर्मचारीकै प्रयास महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। उनका अनुसार, स्वस्फूर्त रूपमा सुरु भएको यस कार्यले आन्दोलनपछि अस्तव्यस्त बनेका अन्य मन्त्रालय र कार्यालयहरूलाई पनि नियमिततर्फ फर्कने प्रेरणा दिनेछ।
सिंहदरबारमा अझै धुवाँ उठिरहेको बेला, एकातर्फ नयाँ प्रधानमन्त्री कार्यालय निर्माणमा र अर्कोतर्फ क्षति व्यहोरेका मन्त्रालयहरू सफाइमा जुट्नुले राज्य संयन्त्र कठिन परिस्थितिबाट पनि अघि बढ्ने संकेत दिन्छ।