नेपालको यु–१७ टोली श्रीलङ्कामा अवतरण, पहिलो खेलमै निर्णायक भिडन्त !

श्रीलङ्कामा सेप्टेम्बर १५ देखि २७ तारिखसम्म हुने साफ यु–१७ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोली शुक्रबार बिहान कोलम्बो प्रस्थान गरेको छ। यस प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ, जहाँ उसले पहिलो खेल सेप्टेम्बर १५ मा आयोजक श्रीलङ्कासँग खेल्दै यात्रा सुरु गर्नेछ। दोस्रो खेलमा नेपालले सेप्टेम्बर १८ मा बङ्गलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका छ।
साफ च्याम्पियनसिपको अर्को समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन्। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्, जसका आधारमा फाइनल भिडन्त तय हुनेछ।
नेपालले यसपटक गोलकिपरका रूपमा पेम्बानुर्बु भोटे, राम बोहरा र विशेष बानियाँलाई मैदान उतार्ने तयारी गरेको छ। रक्षापंक्तिमा प्रशान्त मोक्तान, दीपेन कार्की, धिरज रावल, आदित्य रानामगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया र अनोज खड्का चयन भएका छन्।
मध्य मैदानको जिम्मेवारी प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्ट भण्डारी, प्रतिश थापामगर, भुपेश लामा, नसिब हेन्जन, सुशन मगर र सुजन स्याङ्तानले सम्हाल्नेछन्। आक्रमणतर्फ समीर कुमार, दिगविजय शाही, निसकुमार श्रेष्ठ र रोहित श्रेष्ठलाई भरोसा गरिएको छ।
नेपालले यसअघि उमेरसमूहको साफ प्रतियोगितामा उतार्दै आएको टोलीले मिश्रित नतिजा पाएको भए पनि यसपटक समूह चरणमै कठिन प्रतिस्पर्धा रहने अनुमान गरिएको छ। प्रारम्भिक खेलमै आयोजकसँग भिड्ने भएकाले नेपालको सुरुवात निर्णायक सावित हुन सक्छ। नयाँ पुस्ताका खेलाडीले आफूलाई स्थापित गर्ने अवसरको रूपमा पनि यो प्रतियोगिता हेरिएको छ।