जेनजीको दबाबपछि बागमती सभामुख भुवन पाठकको राजीनामा!

बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले शनिबार पदबाट राजीनामा घोषणा गर्नुभएको छ।जेनजी (नयाँ पुस्ता) को आन्दोलनले ल्याएको राजनीतिक अशान्ति र त्यसपछि देखिएका क्षतिले आफूलाई पदमा बसिरहन असम्भव बनाएको उहाँको भनाइ छ।
पाठकले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको सन्देशमा “गह्रौँ तर दृढ मनले” राजीनामाको निर्णय गरेको उल्लेख गर्दै परिवर्तनको मागसहित सडकमा उत्रिएका युवाप्रति सम्मान प्रकट गर्नुभएको छ। उहाँले आन्दोलनका क्रममा जनधनको ठूलो क्षति भएको र प्रदेशका संरचनासमेत ध्वस्त भएका कारण काम गर्ने अवस्था नरहेकाले राजीनामा दिनु परेको बताउनुभएको छ।
राप्रपाले संघीय र प्रदेश दुवै स्तरका सदस्यलाई सामूहिक राजीनामा गराउने निर्णय गरेसँगै पाठकले पनि सभामुख पद छाड्ने घोषणा गर्नुभएको हो। उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको सन्देशमा, “देश अहिले ऐतिहासिक मोडमा छ। हाम्रो नयाँ पुस्ताले विवेक र न्यायका लागि बुलन्द स्वर उठाएको छ। यो केवल आन्दोलन मात्र होइन, विवेकको क्रान्ति हो,” भन्दै युवापुस्ताको आकांक्षासँग ऐक्यबद्धता जनाउनु आफ्नो पहिलो दायित्व रहेको उल्लेख गर्नुभएको छ।
पाठकले नेतृत्व भनेको केवल पदमा बस्नु नभई जनताको धड्कन सुन्ने क्षमता हो भन्दै, युवापुस्ताले देखाएको साहस, दृष्टि र प्रतिबद्धता इतिहासमा अंकित हुने विश्वास व्यक्त गर्नुभएको छ। आफ्नो राजीनामा उनीहरूको संघर्षप्रति सम्मान र भविष्य निर्माणतर्फको सानो योगदान भएको उहाँको भनाइ छ।
उहाँले कार्यकालभर देखाइएको विश्वास र सहयोगका लागि आभार प्रकट गर्दै प्रदेश सभा समयको मागअनुसार सत्यनिष्ठा र जिम्मेवारीसहित अघि बढोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ।
बागमती प्रदेश सभामा जम्मा ११० जना सदस्य छन्, जसमा सभामुख पाठकसहित १३ जना सदस्य रहने व्यवस्था छ। सभामुखको हैसियतमा औपचारिक राजीनामा उपसभामुख समक्ष दिनुपर्ने प्रावधानअनुसार, उपसभामुख अपसरा चापागाईँले अहिलेसम्म औपचारिक पत्र नआए पनि पाठकले हेटौँडा पुगेर प्रक्रिया पूरा गर्ने आश्वासन दिनुभएको जानकारी दिनुभयो।