समाचार राजनीति

सुशीला कार्की प्रधानमन्त्री नियुक्त, प्रतिनिधि सभा विघटन गरी फागुन २१ मा चुनाव

सुशीला कार्की प्रधानमन्त्री नियुक्त, प्रतिनिधि सभा विघटन गरी फागुन २१ मा चुनाव

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्नुभयो। नवनियुक्त प्रधानमन्त्री कार्कीले शीतल निवासमा शपथग्रहण गरेलगत्तै प्रतिनिधि सभा विघटनको सिफारिस गर्नुभयो। सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधि सभा विघटन गर्दै आगामी २०८२ फागुन २१ गते निर्वाचन मिति तोक्नुभएको राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजङ्ग थापामगरले जानकारी दिनुभयो।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नेपाली कांग्रेस र एमाले नेतृत्वको गठबन्धन सत्ताच्युत भएपछि मुलुकले पहिलो महिला प्रधानमन्त्रीको रूपमा कार्कीलाई पाएको हो। आन्दोलनपश्चात् तीन दिनसम्म निरन्तर संवाद र परामर्शपछि शुक्रबार प्रधानमन्त्री नियुक्तिका लागि सहमति जुटेको थियो। राष्ट्रपति पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र जेनजी अभियानका प्रतिनिधिबीच भएका वार्ताले अन्ततः पूर्वप्रधानन्यायाधीशलाई नेतृत्वमा ल्याएको हो। राष्ट्रपति पौडेलले यसअघि संविधानविद्हरसँग छुट्टै परामर्श गर्नुभएको थियो।

शपथग्रहण समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सेनापति सिग्देललगायत उच्चपदस्थ अधिकारी उपस्थित थिए। सामान्य पोसाकमा उपस्थित भएकी प्रधानमन्त्री कार्कीको सादगीपूर्ण शैलीलाई उपस्थितहरूले आगामी पुस्ताका लागि प्रेरणादायी भएको प्रतिक्रिया दिएका थिए। राष्ट्रपति पौडेलले उहाँलाई बधाई दिँदै मुलुकलाई स्थिरता र निकास दिन आग्रह गर्नुभयो। जेनजी अभियन्ताहरू पनि शीतल निवास पुगेका थिए र कार्कीले मुलुकलाई संकटबाट निकाल्ने विश्वास व्यक्त गरे। तर, सभामुख देवराज घिमिरे अनुपस्थित रहे भने राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले आफू बाहिर भएकाले उपस्थित हुन नसकेको बताए।

राष्ट्रपति कार्यालयले जारी गरेको प्रस्टोक्तिमा असाधारण परिस्थितिलाई सम्बोधन गर्दै संवैधानिक अधिकारको प्रयोगमार्फत राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्त गरेको उल्लेख छ। संविधानको धारा ८० अनुसार कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो।

नेपालको ६६ वर्षे संसदीय अभ्यासमा पहिलोपटक कार्यकारी तहमा महिला प्रधानमन्त्री नियुक्त भएकी कार्की नेपाली महिलाको राजनीतिक यात्रामा ऐतिहासिक मोड बनेकी छन्। यसअघि २०१६ जेठ १३ गते तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाले द्वारिकादेवी ठकुरानीलाई मन्त्री परिषद्मा सामेल गरेका थिए।

राष्ट्रिय सभा अध्यक्ष दाहालले प्रतिनिधि सभा विघटन भए पनि राष्ट्रिय सभा यथावत रहने प्रस्ट पारे। तर, सभामुख घिमिरेसँग सम्पर्क प्रयास सफल भएन। देश अहिले राजनीतिक संक्रमणको संवेदनशील मोडमा प्रवेश गरेको छ, जहाँ आगामी चुनावले स्थायित्व र भविष्यको दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।