समाचार

आन्दोलनपछि बागलुङका स्थानीय तहमा सेवा प्रवाह अन्यौलमा!

आन्दोलनपछि बागलुङका स्थानीय तहमा सेवा प्रवाह अन्यौलमा!

भदौ २४ गतेदेखि सुरु भएको ‘जेनजी’ आन्दोलनका कारण बागलुङसहितका जिल्लाका स्थानीय तहमा सेवा प्रवाह ठप्प भएको छ। कार्यालय बन्द भएपछि पालिकाका कर्मचारी अलमलमा परेका छन्। कतिपय घर फर्कन नसकेर कार्यालय परिसरमै बसिरहेका छन् भने कतिपयलाई काम सुरु गर्ने कि नगर्ने भन्ने अन्यौल छ। प्रशासनले पटक–पटक कर्फ्यु र निषेधाज्ञा जारी गरिरहेका कारण कार्यालय सञ्चालन गर्ने अवस्था बनेको छैन।

बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले काम गर्ने मनस्थिति बनाएको भए पनि परिस्थिति अनुकूल नभएकाले सेवाप्रवाह प्रभावित भएको बताउनुभयो। उहाँका अनुसार, “हाम्रो मनस्थिती ठीक छ, काम गर्न चाहन्छौं, तर देशको अवस्थाले अनुमति दिएको छैन।” प्रशासनको आदेशअनुसार नगरपालिकाले सूचना टाँसेर कार्यालय बन्द गर्नुपरेको उहाँको भनाइ छ।

नगरभित्रका चार वडामा निषेधाज्ञा र कर्फ्यु लागू छ, जसका कारण आवश्यक सेवाबाहेक अन्य काम ठप्प छन्। उच्च र जिल्ला अदालतले पनि अनिश्चितकालसम्म पेशी स्थगित गरिसकेको छ। सदरमुकाम बागलुङसँगै गलकोट, बुर्तिवाङ र कुश्मीसेरामा पनि प्रशासनले निषेधाज्ञा लागू गरेको छ।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले परिस्थिती सामान्य भए आइतबारसम्ममा सेवा सञ्चालन गर्ने तयारी रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामी तयार छौं, तर सेवाग्राही आउने वातावरण बनेको छैन। अत्यावश्यक सेवा भने रोकिएको छैन।”

कसैकसै गाउँपालिकामा भने सीमित रूपमा सामान्य काम भइरहेको छ। एक जनप्रतिनिधिले भने, “सेवाग्राही आउँछन् भने काममा अवरोध छैन, तर जोखिम मोल्न धेरैजना तयार छैनन्।”

स्थानिय तहका जनप्रतिनिधि र कर्मचारीले परिस्थिती सामान्य भए आइतबारदेखि सबै कार्यालय सञ्चालनमा ल्याउने तयारी गरेको बताएका छन्। तर नागरिकले राज्यसँग अपेक्षा गरेको सहज सेवाप्रवाह कहिले पुनः सुरु हुन्छ भन्ने प्रश्न अझै अनुत्तरित छ।