समाचार

शिक्षा मन्त्रालय अस्थायी रूपमा केशरमहल सरेको, त्रिवि र बोर्डका गतिविधि स्थगित!

शिक्षा मन्त्रालय अस्थायी रूपमा केशरमहल सरेको, त्रिवि र बोर्डका गतिविधि स्थगित!

 ‘जेनजी’ समूहको आन्दोलनका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भवनमा भएको क्षतिपछि अस्थायी रूपमा केशरमहलबाट मन्त्रालयका सेवा सञ्चालन हुने भएको छ। मन्त्रालयका सचिव चुडामणि पौडेलका अनुसार सिंहदरबारस्थित भवनमा आगजनी र तोडफोड हुँदा भौतिक संरचना ध्वस्त भए पनि महत्वपूर्ण कागजात सुरक्षित रहेका छन्। तर भूमिगत पार्किङमा रहेका सवारी साधन पूर्ण रूपमा जलेका छन् भने माथिल्लो तलामा तोडफोड मात्र भएको छ।

भर्खरै मात्र पुनर्निर्माण सम्पन्न भएको ऐतिहासिक केशरमहलमा यसअघि पनि मन्त्रालय रहेको थियो। हाल त्यहाँ केशर पुस्तकालय र सार्वजनिक खरिद तथा अनुगमन कार्यालय सञ्चालनमा छन्। यी कार्यालयलाई सघिँच्याएर मन्त्रालयको काम सञ्चालन गर्ने निर्णय गरिएको हो। यसअघि शुक्रबार मुख्य सचिव एकनारायण अर्याल नेतृत्वको टोलीले क्षतिग्रस्त मन्त्रालय भवनको अवलोकन गरेको थियो। मन्त्रालयले वैदेशिक अध्ययन अनुमतिपत्रलगायत अनलाइनबाट प्रदान गरिने सेवा भने प्रभावित नभएको स्पष्ट पारेको छ।

शैक्षिक गतिविधिमा पनि आन्दोलनको प्रत्यक्ष असर परेको छ। त्रिभुवन विश्वविद्यालयले पठनपाठन र परीक्षा गतिविधि असोज ११ (सेप्टेम्बर 27) सम्मका लागि रोक्ने निर्णय गरेको छ। सूचना महाशाखा प्रमुख लिल्ली थापा क्षेत्रीका अनुसार हालका लागि हिउँदे बिदाबाट कटौती गर्ने गरी पढाइ स्थगित गरिएको हो। त्रिवि परीक्षा नियन्त्रण कार्यालयका निमित्त प्रमुख डा. सूर्यकान्त कलौनीले स्नातक र स्नातकोत्तर तहका परीक्षा अर्को सूचना नआएसम्म स्थगित गरिएको बताए। परिस्थिति सहज भएमा आइतबारदेखि प्रशासनिक कार्य मात्र सुरु गर्ने तयारी गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डले भदौ २८ र २९ मा तय गरिएको कक्षा १२ को पूरक परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ। परिस्थिती सामान्य भएपछि नयाँ तालिका सार्वजनिक गरिने बोर्डले जनाएको छ। त्यस्तै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) ले पनि आफू अन्तर्गतका सम्पूर्ण शैक्षिक संस्थाको पठनपाठन अर्को सूचना नआएसम्म रोकिएको जनाएको छ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले विद्यालयहरू आइतबारदेखि मात्रै सञ्चालन हुने उल्लेख गरेको छ। संगठनले पढाइ सञ्चालन गर्ने वा नगर्ने निर्णय विद्यालय सञ्चालक आफैंले गर्न सक्ने व्यवस्था मिलाएको छ। अधिकांश सञ्चालकले परिस्थिति सामान्य नहुँदासम्म विद्यालय खोल्न नसकिने धारणा सार्वजनिक गरेका छन्।

यसअघि नै काठमाडौं महानगरपालिकाले बिहीबारसम्म पठनपाठन रोक्ने घोषणा गरेको थियो। महानगरपालिका शिक्षा विभागका अनुसार विद्यालय सञ्चालन गर्ने वा नगर्ने सम्बन्धी थप निर्णय परिस्थितिको मूल्यांकनपछि लिइनेछ।