नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा पदभार ग्रहण गर्नु भयो

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै आफ्नो कार्यकालको औपचारिक सुरुआत गर्नुभएको छ। बिहान ११ बजे सिंहदरबार पुगेकी कार्कीलाई प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीहरूले स्वागत गरेका थिए। उहाँले पदभार ग्रहणसँगै तत्कालै कार्यदल र सचिवालयसँग संक्षिप्त छलफलसमेत गर्नुभएको थियो।
पदभार ग्रहण अघि उहाँ लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गर्नुभएको थियो। नयाँ नेतृत्वले शहीदप्रतिको सम्मानलाई पहिलो कदमका रूपमा देखाउनु, विगतका संघर्ष र बलिदानलाई सम्झने राजनीतिक सन्देशका रूपमा व्याख्या गरिएको छ।
शुक्रबार कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गर्ने राष्ट्रपतिको निर्णयपछि देशभर चर्चा चुलिएको थियो। नेपालकी पहिलो महिला प्रधानन्यायाधीशको अनुभव बोकेको व्यक्तित्वका रूपमा कार्कीलाई संक्रमणकालीन नेतृत्वमा जिम्मेवारी दिएको राजनीतिको वृत्तले औपचारिक रूपमा पुष्टि गरिसकेको छ।
अन्तरिम सरकार गठनको प्रक्रियाले लामो समयदेखि जारी अनिश्चिततालाई केही हदसम्म तोडेको देखिएको छ। अब कार्की नेतृत्वको सरकारले स्थायित्व, आगामी निर्वाचनको तयारी र संवेदनशील राजनीतिक प्रश्नहरूको सम्बोधन कसरी गर्ने भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।