समाचार

अमेरिकाद्वारा अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिलाई स्वागत, सहयोगको प्रतिबद्धता

अमेरिकाद्वारा अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिलाई स्वागत, सहयोगको प्रतिबद्धता

नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा सुशीला कार्की नियुक्त भएकोमा अमेरिकाले स्वागत जनाएको छ। काठमाडौँस्थित अमेरिकी दूतावासले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा गत हप्ताका दुःखद घटनापछि मुलुकले शान्तिपूर्ण समाधानतर्फ अघि बढेको मूल्याङ्कन गर्दै यसलाई सकारात्मक विकासको रूपमा लिएको उल्लेख छ।

विज्ञप्तिमा राष्ट्रपति रामचन्द्र पौडेलले नेतृत्व देखाएको लोकतान्त्रिक प्रतिबद्धता र युवा नेताहरूको सक्रियताप्रति विशेष प्रशंसा गरिएको छ। साथै, कठिन समयमा अमेरिकी जनताले नेपालीहरूसँगै शोकमा रहेको दूतावासले प्रष्ट पारेको छ।

अमेरिकी पक्षले विशेषगरी नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई संक्रमणकाल सहज बनाउन योगदान पुर्‍याएको भन्दै सम्मान व्यक्त गरेको छ। दूतावासले शान्तिपूर्ण नागरिक सरकार र व्यवस्थाको पुनःस्थापनामा सेनाको भूमिका निर्णायक रहेको स्वीकार गरेको हो।

त्यस्तै, संयुक्त राज्य अमेरिकाले अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्दा नेपालसँग सहकार्य गर्न तत्पर रहेको स्पष्ट पारेको छ।

राष्ट्रपति पौडेलले भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। हालको राजनीतिक परिस्थितिमा अन्तर्राष्ट्रिय समुदायले देखाएको समर्थनले आगामी दिनमा संक्रमण प्रक्रियालाई थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ।