समाचार

जेनजी आन्दोलनपछि हराए गाउँपालिकाका कम्प्युटर–ल्यापटप, फिर्ता नगरे कारबाही!

जेनजी आन्दोलनपछि हराए गाउँपालिकाका कम्प्युटर–ल्यापटप, फिर्ता नगरे कारबाही!

दाङको बबई गाउँपालिकाले हालैको जेनजी आन्दोलनका क्रममा हराएका तथा चोरी भएका सामग्री फिर्ता गर्न सार्वजनिक आग्रह गरेको छ। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जोखिम वलीले आइतबार सूचना जारी गर्दै कार्यालयका कम्प्युटर, ल्यापटप, प्रिन्टर मेसिन, कुर्सी र महत्त्वपूर्ण कागजातहरूसमेत चोरी वा हराएको भन्दै सम्बन्धित व्यक्तिहरूलाई नजिकैको प्रहरी कार्यालय वा गाउँपालिकाको कार्यालयमै बुझाउन अनुरोध गरेका छन्।

सूचनामा भनिएको छ, “सरकारी स्रोत र साधनको संरक्षण सबैको दायित्व हो। घटनाबारे कुनै जानकारी वा सूचनाहरू भए जानकारी गराइदिनुहोस्।” गाउँपालिकाले चोरी भएको सामग्री नफिर्ता भए सिसिटिभी फुटेज र अन्य प्रमाणका आधारमा अनुसन्धान अघि बढाइने र दोषीलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ।

गत भदौ २४ गतेको आन्दोलनका क्रममा बबई गाउँपालिकाको कार्यालयमा तोडफोड र आगजनी समेत भएको थियो। स्थानीय तहका सार्वजनिक सम्पत्ति सुरक्षित राख्नु नागरिकको जिम्मेवारी भएको भन्दै गाउँपालिकाले फिर्ता प्रक्रिया तत्काल सुरु गर्न आग्रह गरेको छ। यस्ता घटनाले स्थानीय प्रशासन र नागरिकबीचको विश्वासमै असर पार्ने भन्दै गाउँपालिकाले सहयोग र जवाफदेहिताको अपिल गरेको छ।