समाचार

वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल नेपालकी पहिलो महिला महान्यायाधिवक्ता नियुक्त!

वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल नेपालकी पहिलो महिला महान्यायाधिवक्ता नियुक्त!

वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल नेपालकी पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भएकी छिन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बराललाई नियुक्त गरेको राष्ट्रपति भवनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्।

यसअघि आजै महान्यायाधिवक्ता रमेश बडालले पदबाट दिएको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गरेका थिए। बडाललाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नियुक्त गरिएको थियो।

बरालको नियुक्तिसँगै मुलुकको न्यायिक इतिहासमा पहिलोपटक महिला महान्यायाधिवक्ता पाउने चरण सुरु भएको छ। यसअघि यस पदमा महिलाको प्रतिनिधित्व भएको थिएन।

प्रधानमन्त्री कार्की स्वयं पनि देशकी पहिलो महिला प्रधानमन्त्री तथा पहिलो महिला प्रधानन्यायाधीशको हैसियतमा ऐतिहासिक कीर्तिमान राखिसकेकी व्यक्तित्व हुन्। उनले महान्यायाधिवक्तामा समेत महिला नियुक्त गरेर न्याय क्षेत्रमा लैंगिक समानताको एउटा महत्वपूर्ण संकेत दिएको देखिन्छ।

नेपालको न्याय प्रणालीमा लामो समयदेखि महिला सहभागिता न्यून रहेको आलोचना हुँदै आएको छ। बरालको नियुक्तिले त्यो धारणा परिवर्तन गर्न सक्ने अपेक्षा गरिएको छ।