आगलागीमा गम्भीर घाइते झलनाथ खनालकी पत्नीको सोमबार शल्यक्रिया!

नेकपा (एस)का वरिष्ठ नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था अझै जोखिमपूर्ण रहेको र सोमबार शल्यक्रिया गर्ने तयारी गरिएको कीर्तिपुर वर्न अस्पतालले जनाएको छ। अस्पतालकी मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारका अनुसार चित्रकारलाई अस्पताल ल्याएको अवस्थाभन्दा केही सुधार देखिए पनि पूर्ण रूपमा खतरामुक्त भने नभएको हो।
डा. ताम्राकारले भन्नुभयो, “आज दिनभर उहाँको स्वास्थ्य अवस्था नियाल्दै छौं, भोली शल्यक्रियाको तयारी भइरहेको छ।” हाल चित्रकारलाई अस्पतालको आइसियूमा राखी उपचार भइरहेको छ। burn केसमा लक्षणहरू प्रारम्भमा पूर्ण रूपमा नदेखिने र चार–पाँच दिनपछि मात्र गम्भीर समस्या देखिने भएकाले उपचार प्रक्रिया चुनौतीपूर्ण हुने उनको भनाइ छ।
गत मङ्गलबार हिंसात्मक प्रदर्शनका क्रममा डल्लुस्थित खनालको घरमा आगजनी हुँदा चित्रकार समयमै बाहिर निस्कन नसक्दा गम्भीर रूपमा जलेकी थिइन्। सोही घटनामा घाइते भएका आठजनामध्ये छ जना अहिले पनि वर्न अस्पतालमा उपचाररत छन्। तीमध्ये अधिकांशलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको डा. ताम्राकारले जानकारी दिनुभयो।
अस्पतालले निरन्तर उपचारकाे प्रक्रिया अघि बढाइरहेकाे जनाएको छ भने खनाल परिवारले पनि नियमित रूपमा स्वास्थ्य जानकारी लिइरहेको छ।