राष्ट्रिय बाल दिवसमा राष्ट्रपति पौडेलको सन्देश: बाल अधिकार कार्यान्वयनमा सबैको समन्वय आवश्यक

राष्ट्रिय बाल दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बालबालिकाको अधिकार र हितलाई प्राथमिकतामा राख्दै सबै सरोकारवालाले संयुक्त रूपमा भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ। नेपालले सन् १९९० मा बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष भदौ २९ गते बाल दिवस मनाइँदै आएको छ। यस वर्षको नारा “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” तय गरिएको छ।
राष्ट्रपति पौडेलले शुभकामना सन्देशमार्फत बालबालिकालाई शिक्षा, स्वास्थ्य, सुरक्षा र विकासका क्षेत्रमा आवश्यक लगानी गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो। उहाँले संविधानले बाल अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन गर्न सरकारी निकाय, गैरसरकारी संस्था, नागरिक समाज, विद्यालय, अभिभावक र समुदाय सबैको समन्वय अनिवार्य भएको स्पष्ट पार्नुभयो।
सन्देशमा उहाँले अझै पनि केही बालबालिका अधिकारबाट वञ्चित रहेको तथ्यप्रति चिन्ता व्यक्त गर्दै हिंसा, दुर्व्यवहार र अमानवीय व्यवहार रोक्न सम्बन्धित निकाय र समाजले उत्तरदायित्व पूरा गर्नुपर्ने धारणा राख्नुभयो। उहाँका अनुसार सृजनात्मक, व्यावहारिक, निःशुल्क र गुणस्तरीय शिक्षाको पहुँच, पोषणयुक्त आहार, सुरक्षित खानेपानी, सरसफाइ, आवश्यक खोप र बालमैत्री स्वास्थ्य सेवाको उपलब्धता सुनिश्चित गर्नु राज्य र समाजको जिम्मेवारी हो।
बालमैत्री नीतिगत र कानुनी कार्यान्वयनलाई बलियो बनाउनुपर्ने आवश्यकता उल्लेख गर्दै राष्ट्रपति पौडेलले सुरक्षित वातावरण र समान अवसर दिलाउन सके मात्र बालबालिकाको भविष्य उज्ज्वल हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले बालबालिकाको संरक्षण, विकास र सहभागितामा आ–आफ्नो योगदान दिने संकल्प सबैमा जागृत होस् भन्ने अपेक्षा गर्दै दिवसले सर्वाङ्गीण विकासतर्फ प्रेरणा जगाउने आशा व्यक्त गर्नुभयो।