आगजनीपछिको अव्यवस्था हटाउँदै आइतबारदेखि सिंहदरबारमा आधारभूत सेवा पुनः सुरु

सिंहदरबारमा हालैको आगजनी, तोडफोड र लुटपाटपछिको अव्यवस्था क्रमशः हटाउन थालिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार क्षतिग्रस्त मन्त्रालयहरूको सरसफाइ र क्षतिको मूल्याङ्कनसँगै सेवा प्रवाहलाई फेरि सामान्य बनाउने प्रक्रिया सुरु भइसकेको हो। प्रवक्ता तथा सहसचिव रविलाल शर्माले आइतबारदेखि सिंहदरबारमा आधारभूत कामकाज सञ्चालनमा आउने बताउँदै पूर्ण क्षमतामा फर्किन एक हप्ता लाग्न सक्ने उल्लेख गर्नुभयो।
गत भदौ २४ गते जेनजी नामक समूहको आन्दोलनबीच भएको आगजनीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालय र निकायहरूलाई गम्भीर क्षति पु¥याएको थियो। कार्यालयका अनुसार तत्कालको प्राथमिकता भनेको सिंहदरबारबाट जनताका लागि सेवा पुनः सुचारु गर्नु हो। त्यसका लागि तोडफोड भएका संरचनाहरूको अस्थायी मर्मत गरी काम अघि बढाइएको र दीर्घकालीन पुनर्निर्माण योजना नयाँ सरकार गठनसँगै तय गरिने प्रवक्ता शर्माले जानकारी दिनुभयो।
उहाँका भनाइअनुसार क्षति भएका अधिकांश सामग्री खरानीमा परिणत भएकाले विस्तृत मुचुल्का तत्काल तयार गर्न सम्भव छैन। उहाँले भने, “अधिकांश सामग्री खरानी भइसकेका छन्, खरानीको के मुचुल्का गर्ने?” अहिले बाँकी सामग्रीलाई सरसफाइ गरी अस्थायी प्रयोगमा ल्याइएको र सेवाप्रवाहमा कुनै अवरोध नआउने गरी तयारी भइरहेको उहाँको भनाइ छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुरानै सामान सरसफाइ गरेर सञ्चालन गर्न लागिएको बताउँदै उहाँले नयाँ खरिदका काम अहिलेसम्म नभएको प्रष्ट पार्नुभयो। सिंहदरबार परिसरमै हालै निर्माण सम्पन्न भएको गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्रीको कार्यकक्ष सर्ने तयारी भएको छ। त्यहाँका टेबल, कुर्सीजस्ता सामग्रीहरू क्षतिग्रस्त कार्यालयबाट सरसफाइ गरी ल्याइएको प्रवक्ता शर्माले जनाउनुभयो।
सिंहदरबारलाई फेरि लयमा ल्याउने काममा कर्मचारी र सुरक्षा निकाय सक्रिय रहेको बताउँदै शर्माले सरकारी सेवामा जनविश्वास पुनःस्थापित गर्ने जिम्मेवारी अहिलेको मुख्य चुनौती रहेको औंल्याउनुभयो।